निजगढ बिमानस्थलको लागि ५० हजार बढी रुखबिरुवामा नम्बरिँग र टयागिँग
विमानस्थलको चारकिल्ला घेर्न ६५ किलोमिटर लम्बाइ तारबार सम्पन्न गर्न रु ४ करोड ४३ लाख खर्च भइसकेको छ भने ६५ बिघा १५ कट्ठा जग्गाको मुआवजाको लागि रु ४३ करोड ६४ लाख वितरण गरिसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताएका छन।

२०७७ कार्तिक १२ बुधबार, बेलुकी ७:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बाराको निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रभित्रका ५७ हजार ३५० वटा रूखबिरुवामा हालसम्म नम्बरिङ, ट्यागिङ कार्य भइसकेको डिभिजन वन कार्यालय बाराले जनाएको छ।
दशैँअघि सो सङ्ख्याका रूखबिरुवामा नम्बरिङ र ट्यागिङ गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले जानकारी दिएका छन।
वन तथा भूसंरक्षण विभाग काठमाडौंले विमानस्थल क्षेत्रभित्र पर्ने रूखबिरुवाको लगत पेश गर्न डिभिजन वन कार्यालय बारालाई निर्देशन दिएपछि प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयको पनि निर्देशन अनुसार डिभिजन वन कार्यालय बाराले रूखबिरुवामा नम्बरिङ र ट्यागिङ कार्य शुरू गरेको हो।
यस विमानस्थल निर्माणका लागि चाहिने कुल ११ हजार ८ सय ७५ बिघा क्षेत्रफलमध्ये पहिलो चरणका लागि १९ सय हेक्टर अर्थात २ हजार ८५० बिघा वन क्षेत्रमा नम्बरिङ र ट्यागिङ कार्य शुरू गरेको हौँ डिभिजन वन कार्यालय बाराका प्रमुख अहमदले भने।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन वन कार्यालय बारालाई ४५ लाख रुपैयाँ पेश्की उपलब्ध गराएपछि सो कार्य अघि बढेको थियो।
सो क्षेत्रफलमा शुरू गरिएको नम्बरिङ र ट्यागिङ सम्पन्न गर्न एक वर्ष लाग्ने र सोको लागि २ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान छ। विमानस्थल निर्माण गर्नुपूर्व तयारी कार्यका लागि हालसम्म ६७ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।
विमानस्थलको चारकिल्ला घेर्न ६५ किलोमिटर लम्बाइ तारबार सम्पन्न गर्न रु ४ करोड ४३ लाख खर्च भइसकेको छ भने ६५ बिघा १५ कट्ठा जग्गाको मुआवजाको लागि रु ४३ करोड ६४ लाख वितरण गरिसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताएका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…