जनकपुरः राजदेवीमा यसपाली कुल ८८६६ बोकाबली प्रदान
बोकाबली साँझ ७ बजेर १० मिनेटदेखि सुरु भएको थियो भने राती ११ः३० सम्म विधिवत रुपमा सम्पन्न गरिएको थियो ।

२०७७ कार्तिक ९ आइतबार, राति १२:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीमा यसपाली करिब ९ हजार बोकाबली प्रदान गरिएको छ ।
कोरोना भन्दै स्थानीय प्रशासनले बोकाबली नहुने जनाएपनि अन्त्य समयमा भएको बोकाबलीको क्रममा शनिबार ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको आयोजक महावीर युवा कमिटिले जनाएको छ ।
गत बर्ष झण्डै १६ हजार बोकाबली प्रदान गरिएकोमा यसपाली कोरोनाको महामारी भन्दै प्रशासनले बोकाबली गर्न नदिने सूचना जारी गरेपछि श्रद्धालुहरु अलमलमा परेको थियो । नेपाल सहित छिमेकी मुलुक भारतबाट समेत बोकाबलीको लागि जनकपुर आउने श्रद्धालुहरु कोरोनाका कारण अलमलमा परेको थियो ।
बोकाबलीको पूर्वसन्ध्यामा मात्र बोकाबली हुने भनेर जानकारी भएपछि पनि अन्य बर्षको तुलनामा आधी भन्दा बढी बोकाबली प्रदान गरिएको महावीर युवा कमिटिले जनाएको छ । यसपाली गुठी सँस्थानले टाउको वापतको रसिद विधिवत रुपमा नकाटेपनि टाउको वापत रु. २०० रुपैयाँ तोकिएको थियो ।
राती करिब ११ः३० बजेसम्म चलेको बोकाबलीको क्रममा ८ हजार ८ सय ६६ वटा छागर (खँसी) को बली प्रदान गरिएको कमिटिका पूर्वअध्यक्ष धर्मेन्द्र साहले जानकारी दिए । बोकाबली नहुने भन्दै गाउँमा किनेको बोका पनि सर्वसाधारणले बलीको लागि नल्याएको तथा शून्य समयमा थाहा पाएपछि समयमा खँसी नपाएको कारण पनि बोकाबली कम भएको बताईएको छ ।
बोकाबली साँझ ७ बजेर १० मिनेटदेखि सुरु भएको थियो भने राती ११ः३० सम्म विधिवत रुपमा सम्पन्न गरिएको थियो । अन्य बर्षमा विहान ४ बजेसम्म बोकाबली हुन्थ्यो ।
विभिन्न गैर सरकारी सँघसँस्थाहरु बली प्रथाको विरोध गर्दै आएको छ भने जनकपुरमा पनि बलीप्रथाको विरोध केही व्यक्तिहरु समाजिक सँजालमा गर्दै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…