प्रदेश २ : १२ लाख नक्कली रुपैयाँ सहित २ जना पक्राउ
फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने कार्य भइरहेको

२०७७ असोज ८ बिहीबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को बारामा नक्कली रुपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ९ बसवरिया नहर स्थितमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलीले तत्काल सो स्थानमा पुगी चेकजाँच गर्दा उनीहरुसित रहेको १२ लाख १६ हजार नक्कली नोट सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेहरुमा बारा बारागढी गाउँपालिका वडा नं. ५ सिघासनी बस्ने शम्भु चौधरीको छोरा अन्दाजी वर्ष २३ को बलिराम चौधरी र छिमेकी राष्ट्र भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने दशै साहको छोरा अन्दाजी वर्ष २७ को संदिप कुमार रहेका छन् ।
उनीहरु बा. ६४ प ९७०६ नम्बरको एफजेड मोटरसाईकलमा सवार रहेको बेला रोकेर शरीर तलासी गर्दा संदिप कुमारले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली १,००० को १२ सय १६ वटा नक्कली नोट फेला परेको हो ।
उक्त नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको भनी खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उक्त नोटहरू रीतपुर्वक बरामद गरी बरामद नोटहरू सहित निजहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गरीरहेको छ । बरामद नोटहरू दिई मोबाइल लिई भागी फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने कार्य भइरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…