नगरपालिकाको बजेटबाट मन्दिरको सार्वजनिक जग्गामा व्यक्तिगत सडक
धनुषाको पूर्वी क्षेत्रमा रहेको स्थानीय तहहरुमा अख्तियारको टोली गएपछि भ्रष्टाचारको नमुनाहरु उजागर हुनेछ ।

२०७७ असोज ७ बुधबार, बिहान ९:३४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एक वडामा मात्र एक जनाको लागि सार्वजनिक जग्गा मिचेर बिचैबिच सडक निर्माण गरिदिएको छ ।
कमला नगरपालिका वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादवका आसेपासे बस्ने स्थानीय जीतनारायण यादवको लागि नगरपालिकाको बजेटबाट सडक बनाइदिएपछि स्थानीयहरुले विरोध जनाएका छन् ।
सोही ठाउँमा रहेको शिव मन्दिरको जग्गाको बीचबाटै जीतनारायण यादवले आफ्नो घरबाट मुख्य सडकमा निस्कनको लागि ५ लाखको लागतमा १०० मिटरको सडक बनाएका हुन् । वडाध्यक्ष धनेश्वर यादवको निकट रहेको यादवलाई सार्वजनिक सडकको नियम कानुनलाई धज्जिया उडाउँदै मात्र एक जनाको लागि सो सडक निर्माण गरिएको हो ।
सार्वजनिक सडक एक सडक सँजालबाट अर्को सडक सँजालसम्म मिलाउनुपर्ने प्रावधान रहेपनि मन्दिर तथा सार्वजनिक जग्गामा वडाको बजेटबाट व्यक्तिगत सडक निर्माण गरिएको हो ।
वडाभरि विद्युतियकरण गर्ने योजनालाई असारको मध्यमा हटाएर योजना सँशोधन गर्दै जीतनारायण यादवको लागि सडक निर्माण गरिदिएको हो । वडाभरिमै वडाध्यक्षको मित्र रहेका वडा नं. २ बस्ने गणेश यादव र उनका निकट बस्ने जीतनारायण यादवले विभिन्न योजनामा नियमित विपरित कार्य गर्दै आएका छन् ।
सार्वजनिक सम्पति उपर कब्जा गर्दै एक जनाको घरसम्म जानको लागि आवश्यकता नै नभएको ठाउँमा ९ फिटको सकड निर्माण गरिदिएपछि स्थानीयहरु विरोध जनाएका छन् । एक स्थानीयले भने, –“जीतनारायण यादव वडाध्यक्षको सँगसँगै घुम्ने गर्छन, जति पनि योजना हुन्छ त्यो सबै उनलाई नै गर्न दिन्छन, अन्यको भुक्तानी पनि गरिदिदैन । त्यसवापत वडाध्यक्षले २५ देखि ३० प्रतिशतसम्म लिने गर्छन् । जीतनारायणको घरको मुख्य सडक पश्चिमतर्फ ढलान गरिएको बाटो छ, तरपनि अरुलाई दम्भ मात्र देखाउनको लागि मन्दिरको जग्गा कब्जा गरेर आफ्नो लागि नगरपालिकाको रकमबाट सडक बनाएको छ । सोही सडकमा अरुलाई निस्कन दिदैनन् ।”
सो सन्दर्भमा वडाध्यक्ष धनेश्वर यादवले केही प्रतिक्रिया दिन मानेनन भने जीतनारायण यादवले दम्भ देखाउँदै कसले के गर्न सक्ने भनेर चुनौति पनि दिए ।
वडाध्यक्षका निकट मानिने गणेश यादव र जीतनारायण यादवले वडाभित्र गरेको अधिकाँश कार्यको लागि नक्कली उपभोक्ता समिति कायम गरी काम गरेको देखिएको छ । गाउँ टोल नभएकै व्यक्तिहरुको नाम हालेर उपभोक्ता समिति गठन गरी रकम झवाम्म पार्ने गरेको छ ।
गठन गरिने उपभोक्ता समितिमा दुई परिवारका सबै सदस्यहरुलाई समावेश गरी योजना लिने गरिएको छ । जीतनारायण र गणेश यादवको घरबाट उनको भाई, दाजु, बुवा, श्रीमतिलाई राखेर उपभोक्ता समिति गठन गरी कानुन विपरित योजनाहरु लिदै रकम झवाम्म पार्दै आएका छन् ।
ईन्जिनीयर, प्राविधिकलाई प्रलोभनमा पारी १०० मिटरभन्दा पनि कम दुरीमा माटो र ग्राभेलको लागि ७ लाख रुपैयाँ विनियोजन गरी करिब ५० हजारको मात्र काम गरी ७ लाख रुपैयाँ निकासा गरिएको देखिएको छ ।
सो सन्दर्भमा स्थानीयहरुले अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भनेपछि उनीहरुले जहाँ जान सक्ने भन्दै धाक लगाउने गरेको छ । नगरपालिकाको यो बेतिथि र ब्रम्हलुटको जिम्मेवार स्थानीय जनप्रतिनीधि र नगरपालिकाभित्रका कर्मचारीहरुको पनि रहेको छ ।
आजम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोली कहिले पनि कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, विदेह नगरपालिका तर्फ गएकै छैनन् । त्यतिबेला दुर्गम मानिएको सो पालिकाहरु अहिले हुलाकी सडकमा कालोपत्रे भएपछि पनि अख्तियारको टोली जान मानेका छैनन् ।
धनुषाको पूर्वी क्षेत्रमा रहेको स्थानीय तहहरुमा अख्तियारको टोली गएपछि भ्रष्टाचारको नमुनाहरु उजागर हुनेछ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…