पूजारी हत्या काण्डमा प्रहरीले गलत रिपोर्ट दियो : साँसद साह
राम नरेश पटेल र वालकुमार पटेलका परिवारले पनि आफुहरुको कुनै किसिमको आर्थिक कारोबार नरहेको स्पष्ट

२०७७ भदौ २१ आइतबार, बेलुकी ६:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटमा हत्या भएको पुजारी श्रीराम साहको प्रकरणमा प्रहरीले गलत प्रतिवेदन पेश गरेको भन्दै आपत्ति जनाएका छन् ।
आइतवार सामाजिक संजाल फेसबूकमार्फत सांसद साहले गलत अनुसन्धान गरेकोले संलग्न प्रहरीलाई निलम्बन गरी पुनः छानबिन गर्न माग गरेका हुन् ।
गरुडामा भएको निरन्जन रामको हत्यापछि हिरासतमा विजय रामको हत्या भएपछि विवादित भएको प्रहरीले पुनः अर्को पुजारी हत्यामा पनि यस्तै पर्दा हाल्न खोजेको उनको आरोप छ ।
प्रदेश प्रहरी कार्यालयले आर्थिक लेनदेनका कारण पुजारीको हत्या भएको भनी प्रतिवेदन सार्वजनिक गरेको थियो । पुजारीका परिवारका सदस्य उनको कुनै आर्थिक लेनदेन नरहेको भनी शनिवार संचारकर्मीहरु समक्ष दुखेसो पोखेका थिए ।
यता हिरासतमा रहेका राम नरेश पटेल र वालकुमार पटेलका परिवारले पनि आफुहरुको कुनै किसिमको आर्थिक कारोबार नरहेको स्पष्ट पारिसकेका छन् ।
सांसद साहले उक्त घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास गरिएकोले निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
“गरुडाका निरन्जन राम हत्याको अनुसन्धानमा रौतहट प्रहरीको गलत भुमिकाको कारणले विजय रामको मृत्यु भएको चर्चा सेलाउन नपाउदै फेरि पुजारी हत्याकाण्डमा पनि प्रहरीको भुमिका माथि गम्भिर प्रश्न उठन थालेको छ । पुजारी हत्याकाण्डमा नेपाल प्रहरीले गरेको गहिरो छानबिन एवं अनुसंधानको हवाला दिंदै प्रदेश प्रहरी कार्यालयले पुजारीको हत्या लेनदेनको कारण भएको लिखित प्रतिवेदन सार्वजनिक गर्यो ।– उनले भने ।
उनले लेखेका छन –“जब कि वहाँहरूको बिचमा कुनै लेनदेन नै भएको थिएन । जसको खण्डन दुई पक्ष अर्थात् पुजारीको परिवार र प्रतिवादीको बुवाले गरिसकेका छन । वहाँहरूले हाम्रो बिचमा कुनै लेनदेन र झै(झगडा समेत नरहेको बताईरहेको अवस्थामा प्रहरीको उक्त प्रतिवेदन माथी कसरी बिश्वास गर्ने ? यहाँ त घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास गरिएको स्पष्ट हुन्छ । क़ुनै पनि घटनाको निष्पक्ष छानबिन गरि “दुधको दुध पानीको पानी” बाहिर ल्याउनु प्रहरीको कर्तव्य हो तर यसरी दिन दहाडै रातलाई दिन बताउने प्रहरीको कार्यलाई किमार्थ सही मान्न सकिन्न ।”
घटनाको अनुसंधानमा संलग्न प्रहरी अधिकृत एवं प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीहरुलाई तुरन्त निलम्बन गरि घटनाको पुनः छानबिन गर्न जरूरी रहेको उनले थपे । उनले यस घटनाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराउने बताए ।
माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्रीराम साहको भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर हत्या गरिएको थियो । घटनामा संलग्न मुख्य अपराधीलाई जोगाउन षड्यन्त्र भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…