प्रदेश सभा भवन बाहिर बैठकको लाईभ टेलिकास्ट
२१ जना मर्यादापालकको भूमिकामा तथा बाँकीका २९ जना प्रदेश सभा बाहिरको सुरक्षामा तैनाथ

२०७४ माघ २१ आइतबार, दिउँसो १२:४४ बजे१ मिनेट पढाइ
जनकपुरधाम, २१ माघ ।
जनकपुरमा जारी प्रदेश नं. २ को प्रथम ऐतिहासिक प्रदेश सभा बैठकको लागि स्थान अभावका कारण बाहिर लाईभ टेलिकास्टको व्यवस्था समेत गरिएको छ ।
सभाहलभित्र स्थान अभाव भएकाले प्रदेशसभाको ऐतिहासिक बैठक हेर्न आउने सर्वसाधारणका लागि भने प्रदेश सभा भवनअगाडि प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, जनकपुरका इन्जिनियर महेश साहले बताए ।
प्रदेश सभाको बैठकको तयारीमा जुटेका ले सभाहलभित्र १७७ कुर्सीको व्यवस्था गरिएको जसमध्ये १०७ प्रदेश सभा सदस्य तथा ७० संसद् सचिवालयका कर्मचारी एवं अतिविशिष्ट पाहुनाका लागि छुट्याइएको थपे ।
बैठक सञ्चालनमा सहयोग गर्ने राष्ट्रसेवक तथा मर्यादापालकहरूलाई संसद् सचिवालयबाट खटिआएका सहसचिव वंशीराज पौडेल नेतृत्वको चार सदस्यीय टोलीले तालीम दिएको छ ।
संसद् सचिवालयका सहसचिव पौडेलका अनुसार प्रदेशसभाका लागि ५० जनपथ प्रहरीको दरबन्दी छुट्याइएको छ ।
तीमध्ये २१ जना मर्यादापालकको भूमिकामा तथा बाँकीका २९ जना प्रदेश सभा बाहिरको सुरक्षामा तैनाथ गरिनेछ ।
मर्यादापालकहरूलाई संसद् सचिवालयका कर्मचारीले खटनपटन गर्नेछन् भने सुरक्षार्थ खटिने सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालयले काममा लगाउने छन् ।
बाहिरको सुरक्षा भने सशस्त्र प्रहरीको जिम्मा दिइएको छ ।
गत बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभा सदस्यहरूका लागि कफी रङको कोट र लोगो निर्धारण गरेको थियो ।
भित्री पोशाक भने आफूखुशी लगाउन पाउने निर्णय गरिएको छ । मर्यादापालकले सफारी सुट लगाउने र भाषामा राष्ट्रिय भाषाबाहेक आफ्नो मातृभाषाको प्रयोग गर्न पाउने निर्णय गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…