विवादित जग्गाको लागि जिप्रकाद्वारा ५ सदस्यीय समिति गठन, ५ दिन प्रतिक्षा गर्न आग्रह
अब समितिले सो विवादित जग्गाको सत्यतथ्य बुझी आफ्नो प्रतिवेदन बुझाउने छ ।

२०७७ भदौ १२ शुक्रबार, राति ९:५१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रसिक विहारी तेली कुट्टीको अहिले विवादमा तानिएको जग्गाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय धनुषाले ५ सदस्यीय समिति गठन गरेको छ ।
रसिक विहारी तेली कुट्टीको पर्खाल गुण्डाशैलीमा तोड्न लगाएपछि सो विवादलाई साम्य पार्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले ५ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, गुठी , नापी कार्यालय, जनकपुरधाम उपमहानगरपालिकाको प्राविधिकलाई राखिएको छ ।
५ सदस्यीय समितिलाई प्रतिवेदन बुझाउनका लागि ५ दिनको समय दिइएको छ । अब समितिले सो विवादित जग्गाको सत्यतथ्य बुझी आफ्नो प्रतिवेदन बुझाउने छ ।
यता शुक्रबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको अगुवाईमा दूबै पक्षबिच छदफल समेत भएको छ । वैश्य समाज तथा यादव समुदाय बिच भएको सो छलफलमा ५ दिन प्रतिक्षा गरेर मात्रै कुनै निर्णयमा पुग्न प्रजिअ भट्टराईले आग्रह गरेका थिए ।
वैश्य समाजको तर्फबाट जनकपुरधामका पूर्व सांसद धर्मेन्द्र साह, पूर्व जिल्ला सभापति राम चरित्र साह, पूर्व मेयर बजरंग प्रसाद साह, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिरा, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह, रामजानकी यातायातका अध्यक्ष मनोज चौधरी, तेली समाज धनुषाका अध्यक्ष रामबाबु साह, पत्रकार विपी साह सहभागी भएका थिए ।
यता पत्रकार यादवको तर्फबाट स्वयं आफै र जसपाका नेता शेषनारायण यादव, पशुपति यादव, बजरंग यादव, सीता पैलेश होटेलका संचालक जीवनाथ चौधरी, नेपाली कांग्रेसका नेता कुमरकान्त झाको सहभागिता रहेको थियो ।
दूबै पक्ष आ–आफ्नै अडानमा रहेपछि प्रजिअ भट्टराईले हामीले समिति गठन गरिसकेका छौँ त्यसैले समितिको प्रतिवेदन आएसम्मका लागि प्रतिक्षा गर्न आग्रह गरेका थिए । सोही अनुरुप दूबै पक्ष ५ दिन प्रतिक्षा गर्ने सहमतिमा पुगेका छन् ।
कुट्टीको पर्खाल तोडिएको विषयमा संघ संस्थाहरुको आक्रोश
कुट्टी जग्गा हड्पने प्रयास स्वरुप पत्रकार बृजकुमार यादवले रातिराति डोजर लगाएर पर्खाल तोड्न लगाएको भन्दै विभिन्न संघसंस्थाहरुले आक्रोश व्यक्त गरेका छन् । विभिन्न संघ संस्थाहरुले विज्ञप्ति निकालेर कुट्टीको पर्खाल तोडिएको विषयमा आक्रोश व्यक्त गरेका छन् ।
रसिक विहारी तेली भगवान कुट्टीका अध्यक्ष जगदीश साहले एक विज्ञप्ति जारी गर्दै पत्रकारिताको आडमा भूमाफिया बन्न खोजिरहेका पत्रकार बृजकुमार यादव हातहतियार सहित गुण्डा भिडाएर पर्खाल तोडाउन लगाएको आरोप लगाए छन् ।
यता, विश्व हिन्दु परिषद नेपाल धनुषाले समेत घटनाको घोर भत्र्सना गरेको छ । विश्व हिन्दु परिषदले जनकपुरधाम धार्मिक स्थल रहे पनि यहाँ धार्मिक सम्पतिमाथी पटक पटक प्रहार हुँदै आएको जिल्ला अध्यक्ष संतोष साह र सचिव अमन प्रसाद गुप्ताद्वारा संयुक्त रुपमा निकालिएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा पत्रकार यादवद्वारा गरिएको यो आक्रमणलाई हिन्दु धर्माबलम्बीहरुको आस्थामाथी खेलवाड गरेको छ ।
यस अघि यही विषयलाई लिएर नेपाल प्रेस युनियन धनुषामा विवाद देखिएको छ । प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले पत्रकार यादवको पक्षमा विज्ञप्ति निकालेपछि सचिव निरञ्जन कुमार साहले आपत्ति प्रकट गरेका छन् । उनले आफू सचिव हुँदाहुँदै छलफलै नगरी एकपक्षीय रुपमा विज्ञप्ति निकालेको उनीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
पत्रकार यादवले टुडे संचार समूहको कार्यालयमा केही उच्छृंखल तत्वले आक्रमण गरेको आरोपलाई श्रीराम युवा कमिटीका पूर्व अध्यक्ष रामबाबु साहले खण्डन गरेका छन् ।
पूरै वैश्य समाजलाई कलंकित गर्ने उद्देश्यले पत्रकार यादवले यस प्रकारको झुठो प्रचारवाजी गरेको उनले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…