न्यूज ब्यूरो, बारा । आन्तरिक विवादका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका,कोहल्वी नगरपालिका र बारागढी गाउँपालिकाका नगरसभा अनिश्चित भएको छ।
असार १० गतेभित्र नगरसभाबाट स्थानीयतहले नीति तथा कार्यकम्र प्रस्तुत गरी असार २० गतेभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर बाराका १६ वटा स्थानीय तहहरूमध्ये जीतपुरसिमरा उपमहानगरपालिका, कोहल्वी नगरपालिका र बारागढी गाउँपालिकामा आन्तरिक विवादका कारण नगरसभा अनिश्चित बन्दै गएको हो ।
कोहल्वी नगरपालिकाका प्रशासकीय प्रमुख अधिकृत हरेन्द्र कुमार श्रेष्ठले नगरसभा सुरू भएपनि आन्तरिक विवादका कारण नीति तथा कार्यक्रम पारित हुन नसकेको बताउनुभयो।
नगर सभा जति ढिलो हुन्छ त्यति नै समस्या बढ्दै जान्छ समयमै बजेट पारित नहुँदा नगरपालिकाको आर्थिक गतिविधि, नयाँ आर्थिक वर्षको राजस्व संकलन ठप्प हुन्छ भने नगरपालिकाले आकस्मिक खर्च समेत गर्न पाउँदैनन् प्रशासकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठले बताउनु भयो |
। सत्तारूढ नेकपाको बहुमत रहेको बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा झनै ठुलो विवाद छ। चालु आर्थिक वर्ष ०७६÷०७७ को सम्पूर्ण हिसाबकिताब सार्वजनिक गर्नुपर्ने र नगरपालिका अन्तर्गत राख्ने बजेटको मात्रा घटाएर वडामा बढाउने माग गरेपछि नगर सभा नै अनिश्चित भएको हो।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख र उपप्रमुखसहित वडाहरूमा पनि नेकपाकै बहुमत रहेपनि पार्टीभित्रै जनप्रतिनिधिबिच चर्को विवाद छ। जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नं। ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले नगरप्रमुखले आफुसँगै कार्यपालिकाका सबै सदस्यलाई डुबाएका आरोप लगाएका छन्।
जीतपुरसिमरा उपमहानगरपालिकामा नगरस्तरीय बजेट खर्च ३० प्रतिशत पनि नभएको भन्दै वडामा बजेट बढी हुनुपर्नेमा मेयर र उपमेयरले आफू अनुकूलको काममा खर्च गरेको र बजेट दुरुपयोग समेत भएको वडाध्यक्षहरूले आरोप लगाएका छन्।
समयमा नगरसभा गर्न नसकेको भन्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जना वडाध्यक्षले साउन १२ गते नगर प्रमुख डा.कृष्ण पौडेल समक्ष ज्ञापन पत्र बुझाएपनि हाल सम्म नगर सभा हुन नसकेको स्थानिय बासीन्दाहरूले बताएका छन ।
नेपाली काँग्रेस र राजपाबाट बिजयी भएका वडाध्यक्षहरुले अविलम्ब नगर सभा गर्न माग गर्दै साउन १२ गते ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा कार्यपालिकाको बैठकको मिति तोक्न, नगर सभा नभएसम्मका लागि पुरानै दररेटमा राजस्वको दररेट कायम हुनुपर्ने, गत आर्थिक वर्षको आयव्यय पारदर्शी हुनुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएका थिए ।
गत आर्थिक वर्षको खर्च भएका योजनाको रकम समेत भुक्तानी नभएको भन्दै भुक्तानीका लागि पहल गर्न समेत वडाध्यक्षहरुले ध्यानाकर्षण गराएका थिए । दुई दिनको म्याद दिदै वडाध्यक्षहरुले आफ्नो माग सम्बोधन नभए वडा कार्यालय तालाबन्दी गरेर नगरलाई चाबी बुझाउने चेतावानी दिएका थिए ।
नगरमा समेत तालाबन्दी गरेर नगरपालिकामा धर्ना दिने भन्दै चेतावनी सहितको ज्ञापन पत्र नगर प्रमुखलाई बु्झाएका थिए । ज्ञापनपत्र बुझ्दै जीतपुरसिमराका नगरप्रमुख डा. कृष्ण पौडेलले हालका लागि राजस्वको दररेट परिवर्तन नगरिएको र नगरसभा साउन महिना भित्रमा नै गर्ने गरी तयारी भईरहेको जानकारी गराएका थिए ।
ज्ञापनपत्रका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हीराबहादुर गुरुङ्ग, वडा नं. ७ का अध्यक्ष रामवावु गुप्ता, वडा नं. १७ का वडाध्यक्ष नवराज खड्का, वडा नं. २० का वडाध्यक्ष रसुल मियाँ अन्सारी, वडा नं. १२ का अध्यक्ष लालबाबु चौधरी, वडा नं. ८ का वडाध्यक्ष रामबाबु पटेल र वडा नं. १० का वडाध्यक्ष सरोज पटेलले हस्ताक्षर गरेका थिए ।
त्यस्तै जिल्लाको बारागढी गाउँपालिकामा भने अध्यक्ष उपाध्यक्ष र प्रशासकीय अधिकृतबीच निम्तिएको विवादका कारण नगर सभा हुन नसकेको बताइएको छ ।
बजेट पूर्व तयारी र बाँडफाँटमा विवाद हुँदा तोकिएको समयमा नगर सभा हुन नसकेको हो। नगरस्तरीय बजेटमा आर्थिक अनियमितता, प्रमुख र उपप्रमुखले आफ्ना मान्छेलाई काम दिने विषय, अपारदर्शी हिसाबकिताब, योजनामा अनियमितता लगायतका विषय उठेपछि ३ वटै पालिकाका नगर सभा अनिश्चित बनेको बताइएको छ।
बारागढी गाउँपालिकाका प्रमुख देवदत्त बछार थारुले साउन १५ गतेभित्र गाउँसभा गर्ने बताएपनि हाल बारागढी गाउँपालिकाको गाउँसभा अनिश्चित बनेको छ । पुरानो योजनाहरू सल्टाउनुपर्ने समस्या भएर हो। हामीबीच कुनै विवाद छैन । गाउँपालिका अध्यक्ष बताउनु भयो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…