धनुषाको रामघाटमा कमला आरती सुरु हुने : मेयर बरबरिया
सँयोजक विक्रम यादवले नेपालबाट अयोध्याको लागि रामायण पाठ गरेका थिए ।

२०७७ साउन २२ बिहीबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहाको बीचमा रहेको कमला नदीको रामघाटमा १०८ दीप प्रज्वलन गरिएको छ ।
भारतको अयोध्यामा हिन्दु धर्मावलम्बीहरुको देवता राम मन्दिर निर्माणको भूमि पूजनको अवसरमा धनुषा शहिदनगर नगरपालिकाको रामघाट स्थित १०८ दीप प्रज्वलन गरिएको हो ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको विशेष सहभागीता तथा कमला बचाउ अभियानका अभियानी बीरेन्द्र यादवको अगुवाईमा बन्न लागेको धार्मिक स्थल रामघाटमा सो दीप प्रज्वलन गरिएको हो ।
सो दीप प्रज्वलन कार्यक्रममा बोल्दै मेयर बरबरियाले विश्वमै छरिएर रहेका हिन्दु धर्मावलम्बीहरुको ऐतिहासिक दिनको रुपमा भएकोले खुसियालीमा दीप प्रज्वलन गरिएको बताए । उनले अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास भएको खुसीयालीमा कमलाको रामघाटमा दीप प्रज्वलन गरिएको बताए ।
कमला नदीको रामघाटमा आउने केही दिनभित्रै कमला आरती प्रारम्भ गरिने उनले बताए । कमला आरतीकै लागि रामघाटमा धर्मशाला निर्माण कार्य अन्तिम चरणमा रहेको तथा पोखरीहरु समेत बनाएको बताए ।
कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले नेपालबाट अयोध्याको लागि रामायण पाठ गरेका थिए । विश्वभरि छरिएर रहेका हिन्दुहरुले राम मन्दिर शिलान्यासको अवसरमा रामायणको विभिन्न अँशको पाठ गर्ने अवसर कमला अभियानी विक्रम यादवले पनि पाएका थिए ।
नेपाल र भारतको विभिन्न स्थानबाट रामायण वाचनको क्रममा अभियानी यादवले रामायणको लँकाकाण्ड पाठ गरेका थिए । अयोध्यामा भएको रामायण पाठ र हवनको क्रममा अभियानी यादवको पनि चर्चा गरिएको थियो ।
दीप प्रज्वलन कार्यक्रममा कमला बचाउ अभियानका अभियानीहरु, साधुसन्त, स्थानीय जनप्रतिनीधि, स्थानीयहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…