ओलीको उटपट्याङ हर्कतले देश बर्बाद हुँदैछ : डा. बाबुराम भट्टराई
वर्तमान नेकपा सरकार कम्युनिष्ट विचारधाराबाट विचलित भई भ्रष्टाचार र कुकर्ममा लागेको आरोप उनले लगाए ।

२०७७ साउन १६ शुक्रबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार पाराले देश बर्बाद भइरहेको बताएका छन् ।
सिरहाको गोलबजार–८, चोहर्वामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले देशको नेतृत्व गरिरहेका व्यक्तिले उटपट्याङ हर्कत गर्नु धैरै नै दुःखद भएको बताए ।
‘देशको नेतृत्व पाएका व्यक्ति सिरियस हुनुपर्ने हो, तर उहाँ देश र जनतासँग मजाक गर्दैहुनुहुन्छ,’ उनले भने । प्रधानमन्त्रीको उटपट्याङ र गैरजिम्मेवार हर्कतले छिमेकी सँगको सम्बन्ध अत्यन्तै खराब स्थितीमा पुगेको भन्दै उनले प्रधानमन्त्रीलाई देशसँग मजाक नगरिदिन आग्रह गरे ।
नेता भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए । भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
वर्तमान नेकपा सरकार कम्युनिष्ट विचारधाराबाट विचलित भई भ्रष्टाचार र कुकर्ममा लागेको आरोपसमेत उनले लगाए । अब देशलाई निकास चाहिएको भन्दै उनले जनता सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।
डा. भट्टराईले देशलाई विकल्प दिन नै जनता समाजवादी पार्टीको जन्म भएको भन्दै जनताको साथ विना रुपान्तरण सम्भव नरहेको औल्याए ।
कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, राप्रपासहित विभिन्न पार्टी परित्याग गरी पाँच बढी नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…