कोरोना संक्रमणको प्रसार रोक्न प्रदेश सरकार थप तदारुकता देखाउनेः मन्त्री साह
जिल्ला स्वास्थ्य प्रमुख यादवले एन–९५ मास्क र सेनिटाइजर समेतको अभाव रहेको बताए ।

२०७७ साउन ११ आइतबार, बिहान ६:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कोरोना भाइरस संक्रमणको प्रसार रोक्न प्रदेश सरकारले थप तदारुकता देखाउने बताएका छन् ।
उनले सप्तरी जिल्ला सदरमुकाम राजविराज क्षेत्रमा कोरोना भाइरस संक्रमण सामुदायिक स्तरमा फैलिएको प्रारम्भिक ठहर दुःखद र चिन्ताजनक भएको उल्लेख गरे ।
मन्त्री साहले शनिबार राजविराजमा जिल्लाका स्वास्थ्य अधिकारीहरूलाई संक्रमण नियन्त्रणका लागि हरसम्भव प्रयास गर्नुपर्ने निर्देशन दिँदै सम्पर्क विवरणका आधारमा अन्य शंकास्पद संक्रमितको खोजी, परीक्षण र उपचारजस्ता कार्यका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने बताए ।
पछिल्लोपटक सप्तरी सदरमुकाम राजविराजमा कोरोना भाइरस संक्रमणका कारण एकको मृत्यु र उनका सम्पर्कमा रहेका २६ जनामा संक्रमण भएको पुष्टि भएपछि स्थानीय सरकारले अनिश्चितकालका लागि राजविराज क्षेत्रमा लकडाउन घोषणा गरेको छ भने स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सप्तरी मन्त्री साहको गृहजिल्ला हो ।
कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका पुरुषको घर रहेको राजविराज नगरपालिका–६ लाई अहिले सिल गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले साधनस्रोत अभावमा कोरोना भाइरस संक्रमणको पछिल्लो स्वरूपसँग लड्न कठिन भइरहेका बेला मन्त्री साहले प्रदेश सरकारले आवश्यक साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताए ।
उनले भने, ‘हामीहरूसँगको भेटमा मन्त्री साहले मुख्यमन्त्री लालबाबु राउतसँग फोन संवाद गरी कोरोना भाइरस संक्रमणको प्रसार रोक्न आवश्यक साधनस्रोतका बारेमा कुरा गर्नुभएको छ ।’
सप्तरीमा कोभिड–१९ का शंकास्पद रोगीहरूलाई राख्नका लागि ८३ वटा क्वारान्टाइन छन् । ती क्ववारान्टाइनलगायत विभिन्न ठाउँमा शंकास्पदको स्वाब परीक्षणका लागि ६ जना खटिएका छन् ।
सुरक्षा सतर्कताका कारण ती जनशक्ति समेत क्वारान्टाइन बस्नुपर्ने अवस्था छ । तर बजेट अभावमा उनीहरूका लागि भोजन र अन्य अत्यावश्यक व्यवस्था गर्न मुस्किल परिरहेको यादवको भनाइ छ ।
सम्पर्क विवरणका आधारमा अहिले वडा नं. ६ का शंकास्पदहरूको स्वाब परीक्षण गरिँदैछ । यस वडामा रहेका करिब एघार सय घरपरिवारका लागि स्वाब परीक्षण गर्न तत्काल पाँच हजार भिटिएम आवश्यक परे पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार एक हजार भिटिएम पठाएको छ ।
जिल्ला स्वास्थ्य प्रमुख यादवले एन–९५ मास्क र सेनिटाइजर समेतको अभाव रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…