बम काण्ड आरोपमा आलमका सहयोगी साह पक्राउ !
सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको

२०७७ जेठ २५ आइतबार, दिउँसो ३:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुर फरहदवा बमकाण्डका एक आरोपी पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले बाराको सिम्रौनगढ नगरपालिका– ४ का ५५ बर्षीय मुक्ति साहलाई पक्राउ गरेको हो ।
भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको उहाँले बताउनुभयो ।
२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् ।
सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो ।
पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २÷३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको डीआईजी सिंहले बताउनुभयो ।
त्यस क्रममा विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५÷१६ जना घाइते र २÷३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएको प्रहरी कार्यालय, जनकपुरले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…