संविधान संशोधनको प्रस्ताव किन हटाइयो ?
प्रस्ताव बुधबारको प्रतिनिधि सभा बैठकमा पेश नै नगरी हटाइएको हो ।

२०७७ जेठ १४ बुधबार, बेलुकी ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्शा संविधानको अनुसूचीमा समेट्ने गरी संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचिबाट हटाइएको छ ।
संभावित कार्यसूचीमा तय भएको सो प्रस्ताव बुधबारको प्रतिनिधि सभा बैठकमा पेश नै नगरी हटाइएको हो । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय भएको संभावित कार्यसूचीमा सार्वजनिक गरेको संविधान संशोधन पेश गर्ने प्रस्ताव बैठकमा भने टेबल नै नगरी कार्यसूचीबाट नै हटाइएको थियो ।
सरकारले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नयाँ नक्शा सार्वजनिक गरेपछि संविधानको अनुसूचीमा रहेको निशान छापमा अंकित नक्शा पनि सोहि अनुसार परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले त्यसका लागि जेठ ९ गते संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ ।
सोहि विषयमा दलहरुबीच सहमति जुटाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक राखेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसबारे छलफल गर्न समय माग गरेका कारण कुनै सहमति नजुटी बैठक सकिएको थियो ।
सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दलहरुबीच राष्ट्रिय सहमति कायम गर्नको लागि कार्यसूचिबाट संविधान संशोधन प्रस्ताव हटाइएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…