सिरहामा राहत विषयमा झडप, उपमेयरका छोराले गोली चलाए !
प्रहरीले भने गोली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको बताएको छ ।

२०७७ जेठ ९ शुक्रबार, दिउँसो ४:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ ।
नरहा गाउँपालिका–१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली चलेको हो । नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।
गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । उनको दाहिने कञ्चटमा गोली लागेको बताइएको छ । झडपमा उनको खुट्टा पनि भाँचिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
मण्डललाई लगत्तै एम्बुलेन्समा जिल्ला अस्पताल सिरहा लगिएकोमा त्यहाँबाट विराटनगर रिफर गरिएको छ । उनीसँगै झडपमा गम्भीर घाइते भएका थप दुई जना गरि तीन जनालाई विराटनगर रिफर गरिएको हो ।
झडपमा परी अन्य १९ जना जति घाइते भएको बताइएको छ । नेपाली कांग्रेस तर्फका १२ जना तथा नेकपा तर्फका ७ जना जति भाइते भएका हुन् । जसमा केहि महिला र बाँकी पुरुष छन् । उनीहरु सबैको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।
नेपाली कांग्रेस तथा अन्य पार्टी निकट स्थानीयहरु राहत वितरणको विषयमा वडाध्यक्ष अशोक साहसँग कुरा गर्न वडा कार्यालय पुगेका थिए । राहत वितरणमा काखापाखा भएको भन्दै भनाभनपछि विवाद उग्र बनेर दुई पक्षबीच झडप भएको हो ।
सोही क्रममा वडाध्यक्षसँगै रहेका उपमेयरका छोरा अरविन्दले गोली चलाएका हुन् । उपमेयर चौधरी र वडाध्यक्ष साह तत्कालिन एमालेबाट निर्वाचित भएका छन् ।
यता, प्रहरीले भने दुई पक्षीय झडपमा केहि व्यक्ति घाइते भएपनि गोली चलेको वा नचलेको बारे पुष्टि हुन नसकेको बताएको छ । ‘गोलीको हल्ला छ, तर पुष्टि भएको छैन,’ सिरहाका प्रहरी प्रवक्ता तथा डिएसपी विनोद घिमिरेले भने ।
घटना विषयमा अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…