शक्तिशाली अम्पुन चक्रवातका कारण देशभर तीन दिन वर्षाको सम्भावना
वर्षाका कारण पूर्वी क्षेत्रका खोलानालामा बाढीसमेत आउने सम्भावना रहेको उनले बताए ।

२०७७ जेठ ७ बुधबार, बिहान १०:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । आजदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को ‘अप्रत्यक्ष’ प्रभावका कारण आज (बुधबार) देखि तीन दिन अर्थात् (शुक्रबार) सम्म पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखााका मौसमविद् वरुण पौडेलका अनुसार यसले विशेषगरी पूर्वी क्षेत्रमा बढी प्रभाव पारिरहेको छ । साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि यसको बादल आइरहेको छ ।
पूर्वी क्षेत्रमा दिनभर नै मौसम अँध्यारै रहन्छ भने काठमाडौंलगायत मध्य क्षेत्रका स्थानमा भने बीचबीचमा घाम पनि देखिने उनको अनुमान छ । मौसमविद् पौडेलका अनुसार नेपालमा अम्पुनको मुख्य प्रणाली नै प्रवेश गरेको होइन। मुख्य प्रणाली प्रवेश गर्थ्यो भने धेरै ठूलो क्षति हुन सक्थ्यो ।
मौसमविद् पौडेलका अनुसार बंगालको खाडीमा रहेको चक्रवात आज दिउँसोतिर पश्चिम बंगालको तटीय क्षेत्र (पश्चिम बंगाल बंगलादेश कोस्ट) मा प्रवेश (ल्यान्डफल) गर्दैछ ।
उनका अनुसार अहिले अम्पुन चक्रवात उत्तर उत्तर पूर्व सरिरहेको छ । यसैकारण यसको प्रभाव नेपालको पूर्वी भागमा बढी पर्ने भएको हो । वर्षाका कारण पूर्वी क्षेत्रका खोलानालामा बाढीसमेत आउने सम्भावना रहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…