लकडाउनमा घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
जिल्लाको अधिकांश स्थानीय तहमा भत्ता वितरणको कुनै सुरसार देखिएको छैन ।

२०७७ जेठ १ बिहीबार, बिहान ७:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
कोरोना संक्रमणलाई न्यूनीकरण गर्नका लागि सरकारले घोषणा गरेको लकडाउन झण्डै पौने दुई महिनादेखि जारी छ । संक्रमणको सबैभन्दा जोखिममा वृद्धावृद्धा नै रहेको अध्ययनले देखाएको छ ।
यस्तो अवस्थामा संक्रमणको खतरा नहोस् भनेर सिरहाको नरहा गाउँपालिका–३ मा सामाजिक सुरक्षा भत्ता घर घरमै वितरण गर्न थालिएको छ । सरकारले उपलब्ध गराएको भत्ता जनप्रतिनिधि तथा कर्मचारीले घरघरमै पुगेर वितरण गर्न थालेका हुन् ।
यसअघि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुने गथ्र्यो । तर, लामो समयको लकडाउनका बेला बैंक तथा वित्तीय संस्थासमेत बन्द रहेका छन् । अर्कोतर्फ बैंकमा भत्ता बुझ्न आउँदा भीडभाड हुने, सवारीका साधनहरु नपाइने जस्ता समस्या हुने भएकाले घरघरमै लगेर भत्ता वितरण गर्न थालिएको वडाध्यक्ष अनिशुल राइनले बताए ।
लकडाउनको कारण बैंकमा गएर भत्ता लिने अवस्था नभएपछि सम्बन्धित व्यक्तिको घरघरमै गएर भत्ता वितरण गरिरहेको उनले बताए । ‘लकडाउन उल्लंघन नहोस् र लाभग्राहीलाई सहज होस् भनेर हामीले यस्तो निर्णय गर्यौं,’ उनले भने ।
दिनमा राहत वितरणको काममा खटिनुपर्ने हुँदाले बेलुकीको समयमा भत्ता वितरणको काम गरिरहेको उनले जानकारी दिए । जनप्रतिनिधि र कर्मचारीले घरमै आएर भत्ता दिँदा ज्येष्ठ नागरिक पनि खुसी भएका छन् । ‘लकडाउनको वेला सरकाले दिने भत्ता घरमै पाउँदा खुसी लागेको छ,’ एक ज्येष्ठ नागरिकले भने ।
अन्य वडा तथा जिल्लाको अधिकांश स्थानीय तहमा भत्ता वितरणको कुनै सुरसार देखिएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…