सरकारसँग भारतीय पक्षलाई स्पष्टिकरण सोध्ने हैसियत छैन ? : मेयर बरबरिया
उनले भारतीय विस्तारवाद मुर्दावाद भन्दै नेपालको भूमि फिर्ता गर्न माग गरेका छन् ।

२०७७ बैशाख २८ आइतबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया आफ्नै सरकार विरुद्ध खनिएका छन् ।
नेपालको भूमि हुँदै भारतीय पक्षले ८० किलोमिटरको लामो सडक बनाएपनि सरकारले नबोलेको भन्दै उनले सरकारसँग भारतीय पक्षलाई स्पष्टिकरण सोध्ने हैसियत उपर प्रश्न तेर्साएका छन् ।
उनले भारतीय विस्तारवाद मुर्दावाद भन्दै नेपालको भूमि फिर्ता गर्न माग गरेका छन् । उनले आफ्नो अधिकारिक फेसबुक पेजमा सुगौली सन्धीले नेपाल—भारत पश्चिम सिमाना महाकाली नदी भनेको छ ।
महाकालीको मुहान लिम्पियाधुरा भन्ने तथ्य पनि प्रमाणित भएपनि भारतले बलपूर्वक कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्,– “भारतले लिम्पियाधुरादेखि पूर्व लिपुलेकसम्मको ३८५ वर्ग किलोमिटर नेपाली भूमि वषौदेखि हडपेको छ र हडप्ने प्रक्रिया जारी राखेको छ । जसको पछिल्लो कडी नेपाली भूमि हुँदै मानसरोबरसम्म जाने ८० किमि लामो सडक निर्माण हो ।”
नेपाल भूमि हुँदै भारतले ८० किलोमिटर लामो सडक बनायो र उद्घाटन समेत गरेपनि नेपाल सरकार बेखवर भएकोप्रति आक्रोस पोखेका छन् ।
“हामी बेखवर जस्तै भयौ किन ? सरकारले के हेरर बसेको ? भारतले गरेको अतिक्रमणको बारे जानकारी भएर पनि नबोलेको हो कि थाहा नै नभएको हो, हाम्रो राष्ट्रवादी सरकारलाई ?”– उनले भनेका छन् ।
सरकारले जनतालाई जानकारी गराउने, भारतीय पक्षलाई स्पष्टिकरण सोध्ने र यसबारे चीनलाई पनि सोध्ने हैसियत उपर प्रश्न खडा गरेका छन् ।
उनले नेपाल सरकारले दुवै छिमेकीसँग आफ्नो भूमि हडपने बारे स्पष्टिकरण सोध्ने हैसियत राखे मात्र वर्तमान सरकार वाम र राष्ट्रवादी हुन सक्ने प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् –“अन्यथा उही पुरानै हेपिने र गुमाउने चक्र दोहोरिने छ । हाम्रो भूमि—फिर्ता गर , भारतीय विस्तारवाद—मुर्दावाद ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…