लकडाउनमा पनि रोकिएन भ्रष्टाचार, अख्तियारमा बढ्यो अनलाइन उजुरी
महामारीका बेला भ्रष्ट मानसिकता भएकाहरूले मौकामा चौका हान्न खोजेको बताउँछन् ।

२०७७ बैशाख २६ शुक्रबार, बेलुकी ६:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको छ ।
कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन बेला पनि पनि उजुरीमा कमी नआएको अदुअआ प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्विटर, हटलाइन र टोलफ्री नम्बरबाट अदुअआमा उजुरी गर्नेको संख्या बढेको हो । अदुअआले कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौडा, बर्दीवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिन्छ ।
गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार ९९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा ९ हजार ८५५ उजुरी परे ।
आर्थिक वर्ष २०७५र०७६ मा प्रधान कार्यालयमा मासिक औसत ८२१ उजुरी परेका थिए । त्यहाँ यसपटक बैशाखको पहिलो दुई हप्तामै ५०० भन्दा बढी उजुरी परेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै अदुअआमा दुईवटा उजुरी परेका छन् । बागमती प्रदेश सांसद तथा विवेकशील नेपाली दलका नेता रमेश पौडेल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिवलगायत विरुद्ध छुट्टाछुट्टै उजुरी दिएका हुन् ।
अदुअआ स्रोतका अनुसार लकडाउनका बेला परेका उजुरीहरू स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, राहत वितरणसँग सम्बन्धित छन् । केही उजुरी काठ तस्करी, गिटी बालुवा उत्खनन्सँग सम्बन्धित छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका अध्यक्ष खेमराज रेग्मी कोभिड १९ महामारीका बेला भ्रष्ट मानसिकता भएकाहरूले मौकामा चौका हान्न खोजेको बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…