लकडाउन खुकुलो पार्न सरकारले गृहकार्य थाल्यो
महामारी रोग विशेषज्ञहरुले अहिलेकै जस्तो लकडाउन गरेर समस्या समाधान नहुने सुझाव दिएका छन् ।

२०७७ बैशाख १६ मंगलबार, बेलुकी ५:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा जटेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय लकडाउनको मोडल निर्धारणको गृहकार्य सुरु गरेको छ ।
मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले २५ वैशाखपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएका छन् ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्मको अवस्था र आगामी एक हप्तामा उत्पन्न हुनसक्ने अवस्थालाई आधार मानेर लकडाउनको मोडालिटी तयार भइरहेको छ ।
अधिकांश जनस्वास्थ्य र महामारी रोग विशेषज्ञहरुले अहिलेकै जस्तो लकडाउन गरेर समस्या समाधान नहुने सुझाव दिएका छन् । संक्रमण नभएको (जिरो केस) क्षेत्रमा स्कुल, कलेज, सिनेमा हल जस्ता भिड लाग्ने स्थान नखोल्ने, सभारजुलुस गर्न नदिने गरी मन्त्रालयमा छलफल भइरहेको छ ।
यसबाहेकका क्षेत्रमा सुरक्षा उपाय अपनाएर सामाजिक दूरी कायम राख्दै हिँडडुल, उद्योग, यातायातसम्म सञ्चालन गर्न सकिने विज्ञहरुको सुझाव छ । र, त्यसअनुसार मन्त्रालयले खाका तयार गरिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका केही अधिकारीहरुले भने अन्तराष्ट्रिय नाका र हवाई उडानमा लगाएको रोक कायमै राख्ने र देशभित्रको लकडाउन भने एक साताका लागि खुला गर्ने सुझाव दिएका छन् । लकडाउन खोलको एक हप्ता र त्यसअघिको एक हप्तामा भेटिने कोरोना भाइरस संक्रमणको दर जाँच गरेर समीक्षा गर्नुपर्ने उनीहरुको तर्क छ ।
नेपालमा अहिले उपचार गराइरहेकाहरुमा सक्रिय संक्रमण नरहेकाले एक हप्ता लकडाउन खोलेर तुलना गर्नुपर्ने उनीहरुको जोड छ ।
यसरी एक हप्ता खुल्ला गर्दा ५ सयभन्दा बढी नयाँ केस देखिए पुनः लकडाउन गर्ने र नभए विस्तारै व्यवस्थापन गर्दै जानुपर्ने उनीहरुको सुझाव छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…