आफ्नै पार्टीका मेयरविरुद्ध सांसदको पत्रकार सम्मेलन : 'जग हसाउने काम हुँदैछ'
पत्रकार सम्मेलनमा सहभागी विभिन्न राजनीतिक दलका नगरका प्रतिनिधिहरुले पनि मेयरको कडा आलोचना गरेका छन् ।

२०७६ चैत २८ शुक्रबार, बिहान ११:४१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सांसद दिलीप कुमार साहले आफ्नै पार्टीका मेयरविरुद्ध रोष पोखेका छन् ।
मिर्चैयामा आयोजित सर्वदलीय पत्रकार सम्मेलनमा सांसद साहले मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवविरुद्ध खुलेरै रोष पोखेका हुन् । मेयर यादव अहंकारको भुमरीमा डुबेर अपराधिक क्रियाकलापमा लागेको भन्दै आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिको विरोधमा उत्रिनु परेको सांसद साहले बताए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित मिर्चैया १ मल्हनियाँका गरिब, विपन्नलाई आफूसहित, आफ्ना पार्टीका स्थानीय नेता तथा कांग्रेस समर्थित युवाहरु राहत वितरण गर्न जाँदा राहत सामाग्री फाल्ने काम भएको भन्दै उनले आपत्ति जनाए । कांग्रेस समर्थित युवाहरुले व्यक्तिगत खर्चमा जम्मा गरेको राहत वितरण गर्न गत २२ गते उनीहरुको आग्रहमा सांसद साह पनि गएका थिए ।
तर, राहत वितरणको कार्य जारी नै रहँदा नगरप्रमुख त्यहाँ आएर समन्वय नगरेको भन्दै रोक्न खोजेपछि विवाद सिर्जना भएको थियो । प्रहरीले विवाद सामसुम पारेका थिए । त्यस्को दुई दिनपछि २४ गते सोही विषयमा भएको दुई पक्षीय झडपमा एक वडाध्यक्षसहित ४ जना र अर्का पक्षका अमोद यादवसहित ४ जना गरी ८ जना घाइते भएका थिए ।
यस्तो विषम पस्थितिमा पार्टीबाट माथि उठेर एकजुट हुन आएकालाई झन मनोबल बढाउनु पर्नेमा पुरानै शैली दोहोर्याएको सांसद साहले बताए । यस्ता क्रियाकलापले नगरपालिकाको गरिमा घटाउने र जग हसाउने काम मात्र भइरहेको उनले टिप्पनी गरे ।
सांसद साहले कसैसँग पक्षपात नगरेर कोही भोको रहन नपर्ने गरी राहत वितरण गर्न आग्रह पनि गरेका छन् । यस्तै, पत्रकार सम्मेलनमा सहभागी विभिन्न राजनीतिक दलका नगरका प्रतिनिधिहरुले पनि मेयरको कडा आलोचना गरेका छन् ।
नेकपाका जीबछ साह, प्रदीप महासेठ, गंगा महतो, समाजवादीका नगर अध्यक्ष रामदयाल यादव, राजपाका अंजय साह, कांग्रसका रमेश न्यौपाने, कांग्रेसकै कपिलदेव साह, तरुण दलका धनेश्वर यादव, राप्रपाका रामप्रताप साह लगायतले मेयरले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई समेत बेवास्ता गरी आफूलाई नगरपालिकाको सर्बेसर्बा ठानेर हिडेको आरोप लगाए ।
मेयर यादव पदको दुरुपयोग गरी भ्रष्टाचार र अनियमिततामा डुबेको आरोप उनीहरुको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…