मिर्चैया : 'राहत वितरणमा काखापाखा नहोस्, सबै भोकालाई राहत दिइयोस्'
नगरपालिकालाई सुपथ मूल्यका उपभोग्य सामाग्रीहरुको घुम्ति पसल प्रत्येक वडामा पुग्ने गरी सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।

२०७६ चैत २५ मंगलबार, दिउँसो १२:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण यतिबेला सर्वसाधारण प्रभावित बनेका छन् ।
लकडाउन अवधिमा हुने खाने परिवारलाई खासै असर नपरेपनि दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने गरिब तथा विपन्न परिवार समस्यामा परेका छन् । उनीहरु खाद्यान्न अभावमा भोकभोकै बस्न बाध्य छन् ।
सरकारले गरिब विपन्नलाई पहिचान गरी कोही भोकै बस्न नपर्ने गरी राहत वितरण गर्न स्थानीय तहलाई निर्देशन दिएपनि राहत वितरणको काम प्रभावकारी देखिएको छैन । समन्वय अभाव र स्थानीय जनप्रतिनिधिको उदासिनताले राहत वितरण प्रभावकारी नदेखिएको हो ।
सिरहाको मिर्चैया नगरपालिकाले पहिलो चरणमा प्रति वडा २५ परिवारलाई मात्रै राहत दिएको छ । जबकी, नगरको प्रत्येक वडाहरुमा विपन्न तथा अतिविपन्न वर्गका एकसय ५० देखि अढाई सय जनाका दरले प्रभावित नागरिकहरु छन् । यद्यपि, सबै वडामा हालसम्म पनि राहत पुग्न सकेको छैन ।
नगरपालिकामा राहत वितरणको कार्य प्रभावकारी नदेखिएपछि विभिन्न राजनीतिक दलका नगरका प्रतिनिधिहरुले संयुक्त रुपमा नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । राहत वितरण कार्यमा व्यापक जनगुनासो आएपछि नगरपालिकालाई ध्यानाकर्षण गराएको राजपाका मिर्चैया नगर अध्यक्ष अंजय कुमार साहले बताए ।
नगरपालिकाले कसैलाई काखापाखा नगरी वास्तविक प्रभावितलाई पहिचान गरी राहत उपलब्ध गराउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यस्तो विषम परिस्थितिमा सर्वदलीय राजनीतिक सहकार्य गरी अघि बढ्न ध्यानाकर्षण पत्रमा भनिएको छ ।
नेकपाका जीवछ साह, कांग्रेसका नगर सभापति रमेश प्रसाद न्यौपाने, राजपाका नगर अध्यक्ष अंजय कुमार साह, समाजवादीका नगर अध्यक्ष रामदयाल यादव र राप्रपाका नगर सभापति बेचन साहद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र मार्फत् नगरपालिकालाई सुपथ मूल्यका उपभोग्य सामाग्रीहरुको घुम्ति पसल प्रत्येक वडामा पुग्ने गरी सञ्चालन गर्न पनि आग्रह गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…