जनकपुरका मेयर साहको राजीनामा माग गरेपछि...
उनले स्वच्छ समिति गठन गरी छानबीन गरेर दोषीलाई कानूनको दायरमा ल्याउनुपर्ने बताए ।
२०७६ माघ २३ बिहीबार, बेलुकी ७:३० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उमहानगरपालिकाका मेयर लालकिशोर साहको राजीनामा माग गरिएको छ । एक सार्वजनिक कार्यक्रममै सहभागीहरुले राजीनामाको माग गरेपछि खैलाबैला मच्चियो ।
जनकपुरधाममा सरकारी, सार्वजनिक र गुठीका जग्गा स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि मात्र नभई स्थानीय तह प्रमुख समेतले सडक विस्तारको नाममा अतिक्रमण गरेको भन्दै एक कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहको राजिनामाको माग गरिएको छ ।
बिहीवार सरकारी,सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगद्वारा जनकपुरमा आयोजित जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा युवा अभियन्ता सुशिल कर्र्णले जानकी मन्दिर फुलबारी जग्गा अतिक्रमणको प्रसंगमा बोल्दै सडक विस्तारको नाममा जनकपुरधाम उपमहानगरपालिकाकाले मोटो रकमको चलखेल गरी व्यक्तिको जग्गा बचाउन मन्दिरकै जग्गा अतिक्रमण गरेको आरोप लगाए ।
उनले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साहको राजिनामाको माग समेत गरे । कर्णले पटक पटक नापी हुँदा मन्दिरको जग्गा अतिक्रमण भएको प्रष्ट भइसक्दापनि स्थानीय प्रशासनले त्यो प्रतिवेदनलाई कार्यान्वयन गर्न नसक्दा रकमको चलखेल भएको आरोप प्रस्ट भएको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै समाजवादी पार्टीका नेता महाशंकर ठाकुरले जानकी मन्दिर जग्गा अतिक्रमण सम्बन्धमा आएको नापी प्रतिवेदन कार्यान्वयन उपमहानगरपालिकाले गराउन नसक्ने र प्रतिक्रिया मांग्ने जाने पत्रकारदेखि आमजनतालाई कुटपिट र दुव्र्यवहार गर्ने मेयर लालकिशोर साहलाई नौतिकताको आधारमा राजनीनामा दिनुपर्ने माँग गरे ।
कार्यक्रममा बोल्दै गुठी संस्थान जनकपुरका प्रमुख बैकुण्ठ प्रसाद रेग्मीले जनकपुरमा सयौ बीघा गुठीको जग्गा अतिक्रमण भएको स्वीकार गरे । उनले सार्बजनिक सम्पत्ति पोखरिको डील, फुलवारी, बगैँचा र नदी तलाव गरि गुठीको सयौ बिघा जग्गा अतिक्रमण भएकोले तत्कालै अतिक्रमण मुक्त गर्न सबै निकायले आ–आफ्नो ठाँउबाट पहल गर्नुपर्ने धारणा राखे ।
यता नापी कार्यालय धनुषाका प्रमुख सत्रुधन यादवले सार्वजनिक जग्गा अतिक्रमण भएको जिकिर गर्दै आफूहरु संग सम्पूर्ण प्रमाण रहेको स्पस्ट पारे ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जनकपुरधामका करीब ९० प्रतिशत जग्गा गुठी, मठ मन्दिर र सरकारी निकायको नै रहेपनि ठूलठूला भुमाफियाहरुले अतिक्रमण गरि सार्बजनिक जग्गामा राजाइ गरिरहेको आरोप लगाएका थिए ।
कार्यक्रममा वक्ताहरुले अतिक्तमर्ण गरेको जग्गामा भुमाफियाहरुले कर्मचारीसंग सेटिङमिलाएर लालपुर्जा बनाउन समेत सफल भएको र वर्षौदेखि बसोबास गर्दै आएका गरीब निमुखा बस्दै आएका घरहरु मात्र उजाडेर समस्याको समाधान हुने नभएकोले जग्गाको वर्गीकरण गरी बसोबास भएका व्यक्तिको जग्गालाई व्यवस्थापन र बाँकी रहेका जग्गालाई लगत कायम गरी संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सहभागीहरुले आम नागरिकबाट अतिक्रण भएको जग्गा सरकारले खाली गराउने हो तर जिल्ला स्थित सरकारी कार्यालयहरु नै कोही लिजको नाममा त कोही बिना जानकारीकै अवैध तरिकाले गुठीको जग्गा कार्यालय संचालन गर्दै आएको छ त्यस्तालाई कसले कारवाही गर्ने भन्ने प्रश्न समेत उठाएका थिए ।
कार्यक्रममा गुठीका जग्गा संरक्षण जाँचबुझ आयोगका अध्यक्ष मोहन रमन भट्टराईले स्थानीयबाट आएका जिज्ञासाको जवाफ दिदै भने ‘सरकारी, सार्वजनिक र गुठीको जग्गा कसैले मिच्नु हुदैन, यदि मिचिएको छ भने अतिक्रमण खाली गरी संरक्षण गर्ने सबैको दायित्व हो’ ।
‘जहाँसम्म स्थानीय जनप्रतिनिधिबाट जानकी मन्दिरको जग्गा अतिक्रमणको कुरो छ, यदि त्यो भएको छ भने सर्वथा गलत हो, सडक विस्तारको नाममा मन्दिरको जग्गा अतिक्रमण गर्नु भनेको पापको भागीदारी बन्नु हो ।’ भट्टराईले भने । उनले स्वच्छ समिति गठन गरी छानबीन गरेर दोषीलाई कानूनको दायरमा ल्याउनुपर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुमित मिश्र
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…