जानकी फुलबारीको लागि पनि आन्दोलन गर !
नभए राजनीति आड र उक्साहट त जनकपुरवासी भलिभाँती बुझिरहेकै अवस्था हो ।

२०७६ माघ २२ बुधबार, बिहान ८:३२ बजे२ मिनेट पढाइ

[ सम्पादकीय ] । स–साना मुद्दामा भ्यागुतो झैं उफ्रने जनकपुरका केही अवसरवादी युवाहरुले राजनीतिक उक्साहटमा निरन्तर उफ्रिरहेको देखिन्छ । उनीहरु आफू न्यायको लागि उफ्रिरहेको भनेर धाक लगाउँछन् । तर, उनीहरु अवसरवादी हुन–यथार्थ पनि यही हो ।
पत्रकार–मेयर काण्डमा जाहेरीको आधारमा पक्राउ परेको जनकपुरका व्यापारी धर्मेन्द्र साहलाई रिहाईको लागि आन्दोलन गरेका युवाहरु जनकपुरको गौरवको रुपमा रहेको जानकी मन्दिरको जानकी फुलबारीको लागि “चुं” पनि किन बोल्दैनन ? उनीहरु दलगत र राजनीतिक उक्साहटमा मात्र सस्तो लोकप्रियताको लागि आन्दोलन गर्ने गरेको भनेर प्रष्ट छ ।
अधिकारीक रुपमा स्थानीय प्रशासनको आदेश बमोजिम नै जानकी मन्दिरको आकर्षणको केन्द्र तथा जनकपुरको धरोहरको रुपमा रहेको जानकी वाटिका (जानकी फुलबारी) अतिक्रमण गरी नीजि घरहरुलाई बचाइएको र जानकी फूलबारी तोडफोड गरी सडक बनाएको भनेर प्रष्ट भईसकेको छ । जानकी फुलबारीको जग्गा अतिक्रमण भएको भनेर प्रमाणित भईसक्दा पनि आफूलाई स्वतन्त्र र अधिकारको लागि लडने भन्ने युवाहरु दुलोमा पस्नु भएन ।

नापी शाखा धनुषाले समेत जानकी फुलबारी ४ मिटर बढी सम्म अतिक्रमण भएको भनेर प्रमाणित गरिसकेको छ । प्रतिवेदन तयार गरी सार्वजनिक गरिसकेको छ , तैपनि अहिलेसम्म अतिक्रमित जग्गा खाली गराउनको लागि अहिलेसम्म नबोल्नुको कारण जनकपुरवासी जान्न चाहन्छन् ।
पुलचोकमा सडक विस्तारको लागि घर भत्काउन स्थानीय प्रशासनसम्म ज्ञापन बुझाउन सक्ने त्यही युवाहरु र युवाहरुको विभिन्न संघ सँस्थाले अहिलेसम्म कुनै प्रकारको अधिकारिक प्रेस विज्ञप्ति समेत जारी नगर्नु अतिक्रमणको लागि उनीहरुको पनि सँलग्नताको शंका उत्पन्न भएको छ ।
मँगलबार जनकपुरका व्यापारी धर्मेन्द्र साह थुना मुक्त भएका छन् । बधाई छ उनलाई । थुनामुक्त भएलगत्तै सत्यको जीत भएको र युवाहरु सत्यको लागि लडेको भनेर प्रतिक्रिया दिए । जानकी मन्दिरको फुलबारी अतिक्रमण पनि एक सत्य हो, के अब धर्मेन्द्र साह, राजपाका युवा नेता तथा युथ एक्सन फोर्सका सँयोजक प्रशान्त झा, स्वतन्त्र पत्रकार समूहका पत्रकारहरुले जानकी मन्दिर जग्गा अतिक्रमण बारे बोल्छन त ? प्रश्न उठेको छ ।
धर्मेन्द्र साहको रिहाईको लागि २ दिन गरिएको आन्दोलन राष्ट्रिय जनता पार्टी (राजपा) को उक्साहटमा गरिएको थियो । आन्दोलनकर्ताहरु, टायर बाल्नेहरु, चक्काजाम गर्नेहरु सबै राजपाका कार्यकर्ताहरु थिए । राजपाको सिद्धान्त पनि अन्यायसँग लडने हो । राजपा समर्थित युवाहरु, आफूलाई स्वतन्त्र भनेर सस्तो लोकप्रियता कमाउन खोज्ने युवाहरु, आफूलाई स्वतन्त्र पत्रकार भनेर ठान्ने पत्रकारहरुले यदि जानकी फुलबारी अतिक्रमणको लागि बोल्छन, लेख्छन भने मात्र उनीहरुको दाबी साबित हुन्छ । नभए राजनीति आड र उक्साहट त जनकपुरवासी भलिभाँती बुझिरहेकै अवस्था हो ।
जनकपुरका युवाहरुमा पनि दुई गुट भएको देखिएको छ । जानकी मन्दिर तर्फका युवाहरुले निरन्तर जानकारी फुलबारी बचाउनको लागि आन्दोलन गरिरहेको छ जो सराहनीय छ । तर, जो चुप छन् उनीहरुले पनि साथ दियो भने प्रतिफल मिठो हुने र जनकपुरको गौरवको रक्षा हुने निश्चित छ । जनकपुरको धरोहर नै नबाँचे आफूलाई जनकपुरियन युवा भनेर प्रचार गर्ने युवाहरुको पनि सस्तो लोकप्रियता धेरै टिक्ने छैन ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…