उपनिर्वाचन : ५२ पदका लागि मतदान सुरु
एकीकृत पार्टी नेकपाले उपचुनावमा जनमोर्चासँग गठबन्धन गरेको छ ।
२०७६ मंसिर १४ शनिबार, बिहान ७:५८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि शनिबार (आज) उपनिर्वाचन सुरु भएको छ । बिहान ७ देखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।
संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदमा जनप्रतिनिधि बहाली गर्न ३७ जिल्लाका २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रमा उपनिर्वाचन हुँदै छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएकाले निर्भीक भएर मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरेका छन् । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षको निधनपछि त्यहाँ पनि मतदान सुरु भएको हो ।

महोत्तरीको पिपरा गाउपालिकाको अध्यक्षको मृत्यु भए पछि यो गाउपालिकामा उपनिर्वाचन भइरहेको हुनाले गाउपालिकाको अध्यक्ष पदका लागि स्थानीय उपनिर्वाचनका लागि नेकपाबाट विक्रम चौधरी ,कांग्रेसबाट विजय यादव, सामाजवादी पार्टी बाट रामजानकी यादव,राजपाबाट रमिता चौधरी अध्यक्ष उमेदवार छन्।
प्रतिनिधिसभातर्फ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यततर्फ ७८ मतदानस्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्प १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ।
प्रतिनिधिसभाको रिक्त रहेको कास्की–२, प्रदेशसभाको भक्तपुर १ (१), बागलुङ २(२), दाङ ३(२) मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा जसले जिते पनि प्रतिनिधिसभा वा प्रदेशसभामा रहेको दलीय उपस्थितिमा ठूलो प्रभाव पार्ने छैन ।
स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरमा प्रमुख, संखुवासभाको मकालु, पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदको निर्वाचन सुरु भएको हो । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष तथा नगरपालिका एवं गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि समेत उपनिर्वाचन हुँदै छ । स्थानीय तहतर्फ नगरप्रमुख, अध्यक्ष तथा वडाध्यक्ष कार्यकारी पद भएकाले त्यसको जितहारले स्थानीय सरकारमा सम्बन्धित राजनीतिक दलको भूमिका थपघट हुनेछ ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २ बाट निर्वाचित तत्कालीन एमाले नेता पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कास्की–२ मा ११ राजनीतिक दलले चुनावमा भाग लिएका छन् ।
प्रदेशसभातर्फ भक्तपुर १(१) बाट निर्वाचित हरिशरण लामिछाने र बागलुङ २(२) बाट निर्वाचित टेकबहादुर घर्तीमगर तथा दाङ ३(२) बाट निर्वाचित सदस्य उत्तरकुमार वलीको निधनका कारण ती स्थानमा उपनिर्वाचन हुँदैछ । लामिछाने र वली एमालेबाट र घर्ती जनमोर्चाबाट विजयी भएका थिए ।
०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तत्कालीन एमाले, माओवादी केन्द्र र जनमोर्चाबीच चुनावी तालमेल थियो । एमाले र माओवादी केन्द्र एकीकरण भइसकेको छ । एकीकृत पार्टी नेकपाले उपचुनावमा जनमोर्चासँग गठबन्धन गरेको छ ।
स्थानीय तहतर्फ धरान उपमहानगरको प्रमुखमा विजयी तत्कालीन एमालेका तारा सुब्बा, मकालु गाउँपालिका अध्यक्षमा विजयी एमालेका खड्कबहादुर कटुवाल, फाल्गुनन्द गाउँपालिका अध्यक्षमा कांग्रेसका अमरकुमार नेम्वाङ र महोत्तरीको पिपरामा राजपाबाट विजयी गाउँपालिका अध्यक्ष विनोदकुमार चौधरीको निधनका कारण ती पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
प्रदेशसभाका तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् । तीनवटै तहका गरी ३ सय ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये राजनीतिक दलका २ सय ५३ जना र अन्य स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलमा ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । उपनिर्वाचन हुने क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता छन् । त्यहाँ १६ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् ।
मतदानको क्रममा नामावलीमा नाम समावेश भएका मतदातासँग मतदाता परिचयपत्र नभए नागरिकता, राष्ट्रिय परिचपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य कुनै वैध परिचयपत्रका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा भएको विवरणमा सामान्य त्रुटि पाई त्यसलाई ‘सानोतिनो भूलचुक’ मानी सरकारबाट जारी अन्य परिचयपत्रलाई समेत आधार मानेर मतदानको व्यवस्था मिलाइने जनाइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…