निकासा जति वृद्धभत्ता दिसकेको, काँगेसको विरोध सुनुयोजित : मेयर बरबरिया
सम्मानीय जेष्ठ नागरिकहरुलाई रकम निकासा नभएको सूचना दिसकेको छ : बरबरिया

२०७६ मंसिर १३ शुक्रबार, दिउँसो १२:४८ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले आफू विरुद्ध राजनीतिक र सुनुयोजित विरोध गर्न लगाइएको बताएका छन् ।
समाजिक सुरक्षाभत्ता समयमा नदिएको भन्दै विहिबार नगरपालिकाका केही वृद्धहरुले मेयर बरबरिया विरुद्ध नारावाजी गरेपछि उनले माग अनुसारको रकम नै निकासा नभएको कारण वृद्धभत्ता वितरण नगरेको दाबी गरेका छन् । उनले आफू बाहिर रहेको बेला राजनीतिक हिसाबले आफू विरुद्ध जेष्ठ नागरिकहरुलाई बोल्न लगाएको आरोप समेत लगाएका छन् ।
उनले भने, - "हामीले नगरपालिकाबाट माग गरे अनुसार अहिले पनि कोष तथा लेखा नियन्त्रणले रकम पठाएको छैन, हामीले समयमै पत्राचार पनि गरिसकेका छौं र यो कुरा नगरपालिकाका जेष्ठ नागरिकहरुमा जानकारी पनि गराईसकेका छौं । अब राजनीतिक पार्टीले मेरो गैर उपस्थितिमा वृद्धवृद्धालाई आन्दोलनमा ल्याउनु पनि उचीत भएन । मैले भनिसकेको छु, कोलेनिकाबाट रकम निकासा भएलगत्तै वृृद्धभत्ता वितरण गरिने छ ।"

विहिबार नगरपालिकाको कार्यालय पुगेर नेपाली काँग्रेसले समयमा बृद्धभत्ता उपलब्ध नगराएको भन्दै चर्को नारावाजी गरेका थिए । नेपाली काँग्रेसले आ आफ्नो टोलबाट वृद्धवृद्धाहरुलाई समेत सहभागी गराएर मेयर बरबरिया विरुद्ध नारा लगाएका थिए । समयमा वृद्धभत्ता नदिएको भन्दै उनीहरुले विरोध गरेको बताइएको छ ।
यता, शहिदनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले समेत संघीय कार्यालयबाट समाजिक सुरक्षा भत्ता निकासा नगरिएको कारण उपलब्ध गराउन नसकेको बताएका छन् । न्यूज ब्यूरोसँग कुराकानी गर्दै अधिकृत झाले निकासा भएको सबै रकम बाँडिएको र निकासा हुन बाँकी रकम अहिले उपलब्ध गराउन असमर्थ रहेको बताए । उनले भने,- " सम्मानीय जेष्ठ नागरिकहरुलाई रकम निकासा नभएको सूचना दिसकेको छ , अब कसको उक्साहटमा उहाँहरु यसरी बोल्दैहुनुहुन्छ त्यो मलाई थाहा भएन् ।"

अधिकृत झाका अनुसार, चालु आर्थिक वर्षमा विगतको एक चौमासिक गरी कोष तथा लेखा नियन्त्रक कार्यालयबााट जम्माजम्मी १ करोड ९० लाख ७४ हजार रुपैयाँ मात्र निकासा भएकोमा बाँडिएको, त्यसपछि दोस्रो र तेस्रो निकासा २ करोड ७४ लाख ५३ हजार २ सय रुपैयाँ मात्र निकासा भएकोले पनि बाँडिएको हो । उनले भने, - "अब रकम अपुग भएपछि कहाँबाट दिने हामीले ? यस आर्थिक वर्षमा जम्मा ४ करोड ७६ लाख ८५ हजार मात्र निकासा भएको थियो जो की सबै बाँडिएकै हो ।"
गत आर्थिक वर्षमा प्रथम चौमासिकमा २ करोड ६१ लाख ६७ हजार ८ सय माग भएपनि ७० लाख रुपैयाँ अपुग भएपछि वृद्धवृद्धालाई मध्यनजर गर्दै वितीय समानिकरणबाट सापटी लिएर वृद्धभत्ता दिएको अधिकृत झाको दाबी छ । यसका साथै दोस्रो चौमासिकमा पनि २ करोड ७४ लाख ५३ हजार २ सय रुपैयाँ निकासा भएकोमा सबैको सबै वितरण गरेको बताएका छन् ।

समाजिक सुरक्षा भत्ताको लागि यस वर्षमा ८ करोड ८५ लाख ३ हजार ४ सय रुपैयाँ आवश्यकता भएपनि कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ४ करोड ७६ लाख ८५ हजार ५ सय मात्र निकासा भएपछि घाटा बजेट भएको जानकारी अधिकृत झाले दिए । झाका अनुसार, घाटा तर्फ ३ करोड ८ लाख १८ हजार ४ सय निकासाको माग गरेपछि हालसम्म उपलब्ध नगराएपछि वृद्धभत्ता वितरणमा ढिलाई भएको बताए । नगरपालिका कार्यालयबाट समाजिक सुरक्षा भत्ताको अहिलेसम्म ११ करोड ८२ लाख ८ हजार रुपैयाँ निकासाको लागि राष्ट्रिय पञ्जिकरण विभागमा पत्र काटिसकेको जनाउँदै अहिलेसम्म निकासा नभएको बताएका छन् ।
एक अर्को प्रसँगमा कुराकानी गर्दै नगर प्रमुख उदय कुमार बरबरियाले वडाबाट लाभग्राहीको यकिन विवरण नआएको कारण पनि भत्ताको लागि निकासामा ढिलाई भएको बताएका छन् । उनले एमआईएस प्रणालीमा वडा वडाको लाभग्राहीहरुको ईन्ट्री नभएको कारण ढिलाई भएकोमा अहिले त्यस प्रणालीमा ईन्ट्री भईसकेको भन्दै समाजिक सुरक्षा भत्ताको लागि निकासा हेतु पत्र पठाएको बताए । उनले भने, अब निकासा हुने वित्तिकै समाजिक सुरक्षा भत्ता वितरण गरिने छ ।
विहिबार नगरपालिका कार्यालयमा गरिएको प्रदर्शनको सन्दर्भमा बोल्दै मेयर बरबरियाले त्यो विरोध बलपूर्वक वृद्धवृद्धाहरुलाई गराएको दाबी गरेका छन् । पार्टीको झण्डा बोकाएर वृद्धवृद्धाहरुलाई वृद्धभत्ताको लागि उक्साएको आरोप लगाउँदै शहिदनगरको जनता जागरुक भएकोले उनीहरुको झाँसामा नआउने पनि बताए । उनले भने, - "नगरपालिका कार्यालयमा विरोध गर्न गएका वृद्धवृद्धाहरु विरोधको आवाज उठाउनु मेरो लागि सिख छ, तर पार्टीको झण्डा बोकाएर बोल्न लगाउनु भनेको यी समस्या ती राजनीतिक पार्टीलाई भएको प्रष्ट छ । जबसम्म म कार्यालयमा हुन्छु, तबसम्म कुराकानी गर्न कोही आउँदैनन, जब म बाहिर निस्कन्छु त्यतिबेला आएर विरोध गर्नको के अर्थ ?"
शहिदनगरका लाभग्राहीहरुलाई निकासा हुने वित्तिकै समाजिक सुरक्षा भत्ता वितरण गर्ने दोहरयाउँदै उनले कुनै दलको दबाब र करकापमा विरोध गर्नुभन्दा पहिले नगरपालिकाभित्रको वस्तुस्थिति बुझेर मात्र विरोध गर्न आग्रह समेत गरे । विभिन्न सँचारमाध्यममा आएको समाचारप्रति खण्डन गर्दै मेयर बरबरियाले आफै लेख्ने र आफैं पढेर मनलाई बुझाउने प्रवृति हावी भएको जीकिर गरे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…