मधेशमा डा. सिके राउतको पल्ला भारी ?
जनतालाई भेंडा सरह व्यवहार गरेका मधेशवादी दलले विस्तारै जनताबाट विश्वास गुमाउँदैछ ।

२०७६ कार्तिक १५ शुक्रबार, दिउँसो ४:१३ बजे३ मिनेट पढाइ

सम्पादकीय । विहिबारको दृश्यले एउटा प्रश्न उब्जायो त्यो हो मधेशमा डा. सिके राउतको पल्ला भारी ? नेपाल प्रहरी र सरकारको चरम यातना सहेर जेलबाट निस्केका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको पल्ला दिनानुदिन भारी भएको देख्न सकिन्छ । हुनत त्यसको लागि कुनै प्रमाण तटस्थ मापन गरिएको छैन तर जनसहभागीताको हिसाब र दृश्यले डा. सिके राउतको पल्ला भारी भएको हेर्न सकिन्छ ।
त्यसको जल्दोबल्दो उदाहरणको रुपमा विहिबार (मिति २०७६ साल कार्तिक १४) लाई लिन सकिन्छ । नेपाल सरकारको भिजिट मधेश/नेपाल २०२० को लागि पूर्व निर्धारित कार्यक्रममा जनता नै आएनन भने उत्ता धनुषाकै विकट क्षेत्र गाउँ मानिएको बरमझियामा हजारौंको सँख्यामा आम सर्वसाधारण ओर्लियो । जनकपुरको तिहुतिया गाछीमा विधिवत रुपमा सरकारले सुरु गरेको भिजिट नेपाल २०२० को क्रममा तराई मधेशका दिग्गज नेताहरु सहित संघीय सरकारका मन्त्रीहरु समेत उपस्थित भएपनि आम नागरिकको उपस्थिति भने अत्यधिक न्यून देखियो । जबकी त्यही डा. सिके राउतले आयोजना गरेको एक श्रद्धाञ्जली सभामै हजारौं सर्वसाधारण ओर्लिए ।
प्रदेश नं. २ को सत्तामा रहेको समाजवादी पार्टी नेपाल र राष्ट्यि जनता पार्टी नेपालको विभिन्न कायक्रम भन्दा पनि डा. सिके राउतले आयोजना गर्ने सानो कार्यक्रममा सहभागीता र उपस्थिति भने मोटो हुन्छ । हुनत डा. सिके राउत मधेशका वैज्ञानिकको रुपमा पनि चिनिएकोले उनलाई हेर्नको लागि पनि सर्वसाधारणहरु कार्यक्रम स्थल जानको लागि तछाड मछाड गरिरहेको देखिएको छ । गत वर्ष असोज ३ गते संविधान दिवसको दिन तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सँयोजक रहेका डा. राउतले कडा निगरानीबीच पनि हजारौंको सँख्यामा उनका समर्थक बीच उभिएर झन चर्चा कमाए ।

केही दिन अघि मात्र समाजवादी पार्टीले सिरहाको सनैठामा गरेको एक कार्यक्रममा करिब डेढ सय सर्वसाधारण उपस्थित भएको देखिएको छ भने त्यही ठाउँमा डा. सिके राउतले आयोजना गरेको कार्यक्रममा पाँच सय बढी समर्थक र सर्वसाधारणहरुको सहभागीता देखियो । जसले मधेशवादी पुरानो दलभन्दा पनि डा. सिके राउतको पक्षमा आम नागरिकको चासो र समर्थन बढी रहेको छ भनेर भन्न सकिन्छ । हुनत चुनावको बेला चुनावको केही घण्टा बाँकी रहँदा जनता पैसा, मासू, रक्सीमा नबिक्ने प्रवृति परास्त भएको छैन तर, डा. सिके राउतप्रतिको युवाहरुको क्रेजले पनि रक्सी, मासू र पैसा बिना जनताले आफ्नो मत डा. सिके राउतलाई दिनेछ भनेर बुझ्न सकिन्छ ।
जनतालाई भेंडा सरह व्यवहार गरेका मधेशवादी दलले विस्तारै जनताबाट विश्वास गुमाउँदैछ । कुनै तवरबाट होस तर जनतामाझको त्यो मशाल छापको क्रेज अहिले डा. सिके राउतको पक्षमा निरन्तर जाँदैछ । अलगै मधेशको नारा लिएर पनि उत्रेका बेला डा. राउत प्रतिको क्रेज बढेको थियो भने आज मूलधारको राजनीतिमा सेफ ल्याण्डिँग गरेपनि उनको क्रेजमा कमि आएको छैन । डा. राउतलाई व्यक्तिगत हिसाबले एक नजर हेर्नको लागि पनि आम नागरिकहरु उनको कार्यक्रममा जाने गरेको देखिएको छ ।
देशकै उच्च पदस्थ व्यक्तिहरू आएको कार्यक्रममा सर्वसाधारण भने आउंदै आएनन । सङ्घीय सरकारमात्र होइन त्यहाँ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अन्य मन्त्रीहरु, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखहरु लगायत उपस्थित रहे पनि अतिथि, स्वयंसेवक तथा सुरक्षाकर्मी मात्र कार्यक्रममा देखिन्थे । मैदानमा बिच्छ्याएका खाली कुर्सी मात्र देखिने कार्यक्रम निकै लज्जास्पद देखिएको थियो ।

कार्यक्रममा धेरैजसो कुर्सी खाली नै थिए । जनता नै नदेखेपछि प्रमुख अतिथि यादवले सम्बोधन गरेर तुरुन्त निस्किए । उनीपछि मन्त्री योगेश भट्टराईले भने खाली कुर्सीकै अगाडी बोलेका थिए । मुख्यमन्त्री राउतको पनि त्यहि अवस्था भयो । सङ्घीय सरकार र प्रदेश सरकारले संयुक्त आयोजना गरेको कार्यक्रम नै लज्जास्पद देखिन्थ्यो ।
उता त्यही दिन धनुषाको विकट गाउँ मानिएको बरमझियामा डा. सिके राउतको एक कार्यक्रममा सर्वसाधारणहरु राम्ररी अटाउन पाएनन् । सर्वसाधारणको मोटो उपस्थिति र सँख्याको कारण आयोजकलाई पनि धौधौ भएको थियो । विना बोलाहट र प्रचारकै मात्र जानकारीको हिसाबले पनि त्यतिको जनता ओर्लनु चानचुने कुरा देखिएनन् । डा. सिके राउतको क्रेज यस्तै चलिरहे आगामी चुनावमा पनि उनको पल्ला भारी हुने सहजै आकलन गर्न सकिन्छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…