चुनाव जितिसकेपछि पार्टीको नभएर समाजको विषयमा सोचौं : नेता यादव
एउटा पार्टीका जनप्रतिनिधिले गर्न लागेको काममा अर्कोले खुट्टा तान्ने मानसिकता नहटेसम्म मधेशको सामाजिक र आर्थिक रूपान्तरण हुन नसक्ने पनि उनले बताए ।

२०७६ कार्तिक ८ शुक्रबार, राति ८:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले विकास निर्माणका सवालमा समेत जनप्रतिनिधिहरू मिल्न नसकेको बताएका छन् ।
सिरहाको मिर्चैयामा शुक्रबार ज्येष्ठ नागरिक हकहित समाजले गरेको दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले एउटा पार्टीका जनप्रतिनिधिले अर्को पार्टीका जनप्रतिनिधिसँग बोल्नसमेत नचाहने प्रवृत्ति हाबी भएको बताएका हुन् । उनले जनप्रतिनिधिमा भएको पार्टीगत मानसिकताका कारण विकासको कामले गति लिन नसकेको बताए ।
जनप्रतिनिधिहरूले चुनाव जितिसकेपछि पार्टीको नभएर समाजको विषयमा सोच्नुपर्ने उनले सुझाव दिए । कुनै पनि क्षेत्र वा स्थानमा एउटा पार्टीका जनप्रतिनिधिले गर्न लागेको काममा अर्कोले खुट्टा तान्ने मानसिकता नहटेसम्म मधेशको सामाजिक र आर्थिक रूपान्तरण हुन नसक्ने पनि उनले बताए ।
नेता यादवले आफ्नै सन्तान तथा घरपरिवारबाट ज्येष्ठ नागरिकहरू अपहेलित भइरहेको प्रति पनि चिन्ता व्यक्त गरे । प्रतिनिधिसभाका सांसद्समेत रहेका नेता यादवले सिरहाको मिर्चैया नगरपालिकामा ट्रमा सेन्टर स्थापना गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनले यसका लागि रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि मिर्चैयाकै राप्रपाका नेता भोला साहले यसका लागि चाहिने दुई बिगहा जमिन उपलब्ध गराइदिने बाचा गरे ।
राजनीतिक प्रसंगमा नेता यादवले पार्टीको प्राथमिकतामा महाधिवेशन रहेको बताए । उनले समाजवादीसँग एकीकरणका लागि पनि कुरा भइरहेकाले बाँकी कुरा समयले निर्धारण गर्ने प्रतिक्रिया दिए ।
कार्यक्रममा उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले ज्येष्ठ नागरिकको हितका लागि प्रदेश २ सरकार प्रतिबद्ध रहेको बताए । उनले ज्येष्ट नागरिकको सम्मानको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । राज्यमन्त्री मण्डलले विभिन्न स्थानमा क्लोथ बैंकको स्थापना भइरहेको भन्दै मिर्चैयामा पनि यो बैंकको खाँचो रहेकोसमेत बताए ।
त्यस्तै, राजपाका केन्द्रीय उपाध्यक्ष रामकुमार मण्डलले भौतिक तथा आर्थिक रूपमा सम्पन्न रहेका ज्येष्ठ नागरिकहरूले आफ्ना सन्तानबाट स्नेह पाउन नसकेको बताए । त्यसैगरी, प्रदेश सांसद् दीलिप साहले समाजमा नैतिक शिक्षाको आवश्यकता माथि जोड दिए । कार्यक्रममा ज्येष्ठ नागरिकहरूले वृद्धाश्रम भवन निर्माणका लागि सहयोग गरिदिन जनप्रतिनिधिहरूसँग आग्रह गरेका थिए ।
ज्येष्ठ नागरिक हकहित समाजका अध्यक्ष राधाकृष्ण साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सांसद यादव सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा राज्यमन्त्री मण्डल सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…