प्रदेश २ लाई हरेक दृष्टिकोणबाट विकसित बनाउन अग्रसर छौं : राज्यमन्त्री यादव
राज्यमन्त्री यादवले समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताए ।

२०७६ कार्तिक ६ बुधबार, राति ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश २ का कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश २ सरकार समाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताएका छन् ।
मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत रौतहटमा साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले यस्तो बताएका हुन् । उनले समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताए ।
महिलाहरु सशक्त नभएसम्म समाजिक रुपान्तरण सम्भव नहुने र समाजिक रुपान्तरण नभएसम्म प्रदेश समृद्ध नहुने यथार्थलाई बुझदै प्रदेश सरकारले यसलाई उच्च प्राथमिकतामा राखेका उनले बताए । उनले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत पहुँच बढाउन प्रदेश प्रहरी र निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने मुलुककै पहिलो प्रदेश बनेको समेत बताए ।
मन्त्री यादवले प्रदेशलाई हरेक दृष्टिकोणबाट विकसित बनाउने बाटोमा प्रदेश सरकार अग्रसर रहेको पनि जनाए । रौतहटको गढीमाई नगरपालिका–७ र ८ मा अवस्थित दुई विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई बुधबार राज्यमन्त्री यादवद्धारा साईकल हस्तान्तरण गरिएको हो ।
राज्यमन्त्री यादवले किसानका हितमा पनि उत्तिकै सक्रिय भएका काम गर्दै आएका छन् । यसअघि उनी विभिन्न स्थानमा किसानहरुलाई पानी तान्ने मोटर र क्रसर मेसिन वितरण गरेका थिए । राज्यमन्त्री यादवले प्रदेश कमिटीको कोषबाट विभिन्न ठाउँमा सडक, मन्दिर र विद्यालय भवन निर्माण लगायतका कार्यहरु गरेकासमेत छन् ।
विभिन्न समयमा विभिन्न कार्य गरेर जनतासँग नजिक रहेका राज्यमन्त्री यादवको निर्वाचन क्षेत्रका जनता उनीप्रति हर्षित छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…