माछा मार्न गएकी ३ बालिका एकैपटक डुबिन, सिँगो टोल नै शोकमग्न !
यस प्रकृतिको घटना रौतहटमा सबभन्दा बढी भइरहेको देखिएको छ ।

२०७६ भदौ २६ बिहीबार, राति ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ को रौतहटमा एकै टोलकी ३ बालिका एउटै खेतको खाल्डोमा डुबेपछि सिँगो टोल नै शोकमग्न भएको छ ।
जिल्लाको इशनाथ नगरपालिकाको बन्जरहामा तीन जना बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बृजनन्दन यादवकी अन्दाजी बर्ष १० वर्षकी छोरी किन्जल यादव र ६ वर्षकी छोरी गुन्जन यादव सहित स्थानीय हिरालाल साहकी ७ वर्षकी छोरी सरिता साह रहेकी जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताए ।
इशनाथ नगरपालिका वडा नं. १ मा रहेको धान खेत संगैको खाल्डोमा माछा मार्न गएकी तीन बालिकाको ज्यान गएको हो । विहिबार दिउँसो ४ बजे खाल्डोमा जमेको पानीमा माछा मार्न गएका उनिहरु साँझ सम्म पनि घर नफर्किए पछि अभिभावकले खोज तलाश गर्ने क्रममा उनिहरु मृत अवश्थामा फेला परेकी थिइन ।
एकै परिवारको दुई बालिका र त्यही ठाउँकी एक थप बालिका डुबेर मृत्यू भएपछि सिँगो टोल नै शोकमा डुबेको छ । यो घटनापछि टोलमा चुलो बलेको छैन भने पीडित परिवार सहित टोलमै रुदन छाएको छ । यस घटना बारे अनुसन्धाम भइरहेको र तिनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याउने तयारी भइ रहेको डिएसपी कार्किले बताए । यस प्रकृतिको घटना रौतहटमा सबभन्दा बढी भइरहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…