जनताको स्वास्थ्यप्रति जिम्मेवार मिर्चैयाका मेयर यादव : अब हरेक वडामा स्वास्थ्य सेवा
नगरप्रमुख यादवले आम नागरिकलाई प्रत्याभूत हुनेगरी उपलब्ध गराउनुपर्ने स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै कसर बाँकी नराखिने बाचा गरे ।

२०७६ भदौ २६ बिहीबार, बिहान ११:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले नगरको हरेक वडाका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउने कार्यलाई तीव्रता दिएको छ ।
स्वास्थ्यको महत्वलाई आत्मसात गर्दै अघि बढेको मिर्चैया नगरपालिकाले बुधबार नगरका दुई स्थानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ । मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवन कुमार यादवले एकैदिन वडा ४ र वडा ५ मा गरी दुई स्थानमा स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।
स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै मेयर यादवले नगरबासीको सहजताको लागि स्वास्थ्य सेवा जनताको घरदैलोमा नै प्रदान गर्ने लक्ष्य अनुरुप स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको बताए । नगर प्रमुख यादवले अब स्वास्थ्य सम्बन्धि आधारभूत ज्ञान, चेतना र स्वास्थ्य सेवा यी केन्द्रबाट स्थानीय जनताले सहजै प्राप्त गर्ने विश्वास लिए ।
नगरका सबै वडामा प्राथमिक उपचारको लागि स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित स्वास्थ्य सेवा केन्द्र नभएका वडामा नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापनाको सुरुवात गरेको हो । मिर्चैया नगरपालिका अन्तर्गत रहेका १२ वटा वडामध्ये वडा नम्बर ४, ५, ८ र ९ मा स्वास्थ सेवा केन्द्र थिएन । बुधवार वडा ४ र ५ मा स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएको मिर्चैया नगरपालिकाले बाँकी वडा ८ र ९ मा पनि घर भाडामा लिएर भएपनि जतिसक्दो लगत्तै गर्ने जनाएको छ ।
बाँकी २ वटा वडामा स्वास्थ्य सेवा केन्द्र स्थापनापछि नगरभित्र स्वास्थ्य सेवा नपुगेको कुनै पनि बस्ति नहुने मेयर यादवले बताए । स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य चौकीमा उपलब्ध हुने सबै स्वास्थ्य सेवाहरु प्रदान गरिने जनाइएको छ ।
नगरप्रमुख यादवले जनताको स्वास्थ्यप्रति सजग रहेको बताउँदै आम नागरिकलाई प्रत्याभूत हुनेगरी उपलब्ध गराउनुपर्ने स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै कसर बाँकी नराखिने बाचा गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…