बारामा एक वडाध्यक्षले तीन बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाएर दिए सजाय
घटनापछि वडा अध्यक्ष केशरीले पीडितहरुलाई धाकधम्की देखाउँदै प्रहरीमा नजान दवाब दिँदै आएको पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी दिए ।

२०७६ भदौ ११ बुधबार, बिहान ८:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । पसलबाट चकलेट चोरेको आरोपमा बारामा एक वडाध्यक्षले तीन बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाएको घटना बाहिरिएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर १२ धर्मनगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई चकलेट चोरेको आरोपमा घरमा थुनेर कुटपीट, कपाल मुण्डन तथा १ हजार रुपैयाँ जरिवाना गरी गाउँ घुमाएर सजाय दिएको घटना सार्वजनिक भएको हो ।
पीडित परिवारले मंगलवार कलैयास्थित देवकीलाल धर्मशालामा पत्रकार सम्मेलन गरि सो घटनाबारे जानकारी गराएका छन् । गत भदौ २ गते स्थानीय हिरा साह केशरीको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ बर्षीय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन पासवान र नथुनी साह गोरका ११ वर्षीय छोरा राहुल गोरले केही चकलेट चोरेका थिए ।
सोही आरोपमा वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले ३ जना बालकलाई कुटपिट गरि टाउको मुण्डन गरेर गाउँ समेत घुमाएको अभिभावकले जानकारी गराए । त्यतिमात्र नभएर तीन जना बालकका अभिभावकबाट रु १ हजारको दरले जरिवाना समेत तिराएको छ ।
गुलसन स्थानिय ज्ञान मन्दिर एकेडेमीमा यूकेजीमा र राहुल एलकेजीमा अध्ययन गरिरहेका छन् । घटनापछि वडा अध्यक्ष केशरीले पीडितहरुलाई धाकधम्की देखाउँदै प्रहरीमा नजान दवाब दिँदै आएको पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनपश्चात उक्त घटनाबारे उजुरी दर्ता गर्नका लागि जिल्ला प्रहरी कार्यालय कलैयामा गाँउलेहरुसँग जाँदा प्रहरी निरीक्षक चन्द्रकिशोर साहले आफुहरुलाई उल्टै दुब्र्यवहार गरेको पूर्व सहायकमन्त्री कलावती पासवानले आरोप लगाइन् । जिल्ला प्रहरी कार्यालय बाराका निमित प्रमुख रञ्जितसिंह राठौरले घटनापछि पीडितहरु ढिलो आएपनि लिखित जाहेरी लिएर आएमा कार्वाही प्रकृया बढाइने बताए ।
प्रहरी निरिक्षक चन्द्रकिशोर साहको व्यवहारको सन्दर्भमा आफुले छानबिन गर्नेसमेत निमित प्रमुख राठौरले प्रतिबद्धता जनाएका छन् । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्कीले बालबालिकाको बिषयमा नेपाल प्रहरी एकदमै सजग रहने बताउँदै कलैयाको घटनाबारे छानबिन गरी कार्वाही प्रकृया अगाडी बढाउन बारा प्रहरीलाई निर्देशन दिएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…