मिर्चैया खानेपानी चुनाव : ३ दिनभित्र तयारी थाल्न माग
भिषण वर्षा र बाढीले नगरलाई अस्तव्यस्त बनाएपछि बाढी पीडितको राहत तथा उद्धारमा खट्नु परेको कारण विलम्ब भएको मेयर यादवको भनाई छ ।

२०७६ भदौ ८ आइतबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाको मिर्चैया साना सहरी तथा खानेपानी सरसफाई आयोजनाको चुनाव तोकिएको मितिमा नभएपछि ज्ञापनपत्र बुझाइएको छ ।
खानेपानी व्यवस्थित ढंगले सञ्चालनका लागि मिर्चैया नगरपालिकाले नयाँ कार्यसमिति चयन गर्न तोकेको मितिमा चुनाव नहुँदा खानेपानी उपभोक्ता संघर्ष समितिले पूर्वबाचा अविलम्ब कार्यान्यवनको मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
संघर्ष समितिले आईतबार मिर्चैया नगरपालिकासहित विभिन्न ९ वटा सम्बन्धित कार्यालयलाई वोधार्थ राख्दै मिर्चैया साना सहरी तथा खानेपानी सरसफाई आयोजना कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । खानेपानीको तत्कालिन उपभोक्ता समितिले व्यवस्थित ढंगले काम गर्न नसकेको भन्दै नगरपालिकाले गत २०७५ चैत २१ गते समिति खारेज गरेको थियो ।
नगरपालिकाले पुरानो समिति खारेज गरी चुनाव नहुञ्जेलसम्म खानेपानी आयोजनाको रेखदेख तथा सञ्चालनका लागि सम्बन्धित वडा ४, ५, ६, ७ र ८ का वडाध्यक्षलाई तदर्थ समितिमा राखी भदौ ५ मा चुनाव गर्ने मिति तोकेको थियो । तर, उक्त मितिमा चुनाव हुन नसक्दा खानेपानीको अवस्था लथालिङ्ग बनेर उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै तीन दिनभित्र चुनावी प्रक्रिया अघि सार्न ज्ञापनपत्र बुझाएको संघर्ष समितिले जनाएको छ ।
यता, मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवले गत असारमा तराई मधेशसहित देशैभर आएको अविरल वर्षा र त्यसपछिको विनाशकारी बाढीका कारण तोकिएको समयमा चुनाव गर्न नभ्याएको बताएका छन् । उनले चुनावको अन्तरिक तयारी गरेपनि अचानकको प्राकृतिक विपदाका कारण वाधा पुगेको प्रतिक्रिया दिए ।
भिषण वर्षा र बाढीले नगरलाई अस्तव्यस्त बनाएपछि बाढी पीडितको राहत तथा उद्धारमा खट्नु परेको कारण विलम्ब भएको मेयर यादवको भनाई छ । तर, अब भने चाँडै नै चुनावको तयारीसहित मिति तोकेर उपभोक्तालाई निकास दिने उनले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…