जनप्रतिनीधिको गाडी भन्दा जनताको लागि 'एम्बुलेन्स' आवश्यक थियो : उपप्रमुख कार्की
गाउँपालिकाद्धारा सँचालित उक्त एम्बुलेन्समा सरकारले भन्सार छुट गरेको छ ।

२०७६ भदौ ४ बुधबार, बिहान १०:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दीनी गाउँपालिकाकी उप प्रमुख भारती कार्कीले जनप्रतिनीधिको गाडी भन्दा पनि जनताको लागि एम्बुलेन्सको आवश्यकता लाई पूरा गरेको बताएकी छन् ।
गाउँपालिकामा एम्बुलेन्स नभएको खण्डमा जनप्रतिनीधिहरुले गाडी चढनुभन्दा पहिले आम सर्वसाधारणहरुको लागि एम्बुलेन्स खरिद गरि ल्याएको बताएकी छन् । बुधबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै उप प्रमुख कार्कीले गाउँपालिकाको विभिन्न वडामा एम्बुलेन्स जाने बाटो भएकोले अब आकस्मिक परेको बेला गाउँपालिकाद्धारा सँचालन गरिएको एम्बुलेन्सले उद्धार गर्न सजिलो हुने दाबी गरिन ।
४५ लाख रुपैयाँ पर्ने एक एम्बुलेन्सको लागि सबै प्रक्रिया पूरा गरी गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट ११ लाखमै एम्बुलेन्स खरिद गरिएको जानकारी कार्कीले दिइन । उनले भनिन, जनप्रतिनीधिको सवारी भन्दा पनि नगरको जनतालाई सास्ती भोग्नुपर्ने अवस्था थियो, यस्तोमा गाउँपालिकाले एक एम्बुलेन्सको आवश्यकता महसुस गरेको थियो र हामीले कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स ल्याएका छौं ।
पहिलो दिन निःशुल्क गरिएपनि एम्बुलेन्सको मर्मत सम्भार र डिजल खर्च हेतु पनि अन्य एम्बुलेन्स भन्दा अति कम शुल्कमा सँचालन गरिने उपप्रमुख कार्कीले बताइन् । कार्यपालिकाबाट न्यूनतम शुल्क तोकेर एम्बुलेन्स सँचालन कार्यलाई निरन्तरता दिने बताउँदै उनले असहाय तथा अति विपन्न परिवारको लागि निःशुल्क रुपमै एम्बुलेन्स जाने बताइन । उनले भनिन, यो गाउँपाकाको सार्वजनिक सम्पत्ति हो, यसमा सबैको उत्तिकै हक र अधिकार हुन्छ, जनताकै हितको लागि सँचालन गरिएको छ र परेको बेला विपन्न परिवारलाई एम्बुलेन्स काम आउनुपर्छ । यसमा सबै मिलेर सहयोग गर्नु आवश्यक छ ।
गाउँपालिकाद्धारा सँचालित उक्त एम्बुलेन्समा सरकारले भन्सार छुट गरेको छ । गाउँपालिकाले सँचालनमा ल्याएको एम्बुलेन्सबाट आम जनतामा थप सुविधा पुग्ने विश्वास लिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…