'कमला बचाउको मुद्दा मधेशी आयोग सरकारसँग राख्छ' : अध्यक्ष दत्त
सँयोजक विक्रम यादवले चालेको कदमलाई सराहना गर्दै संघीय सरकारले कमला बचाउको लागि ठोस कदम चाल्नुपर्ने बताए ।

२०७६ साउन ४ शनिबार, बेलुकी ६:४७ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी आयोगका अध्यक्ष प्रा. डा. विजय दत्तले कमला नदी संरक्षणको मुद्दा केन्द्र सरकार समक्ष राख्ने प्रतिवद्धता जनाएका छन् ।
प्रत्येक शनिबार कमला बचाउ अभियान अन्तर्गत गरिने अन्तरक्रिया कार्यक्रमको क्रममा शनिबार धनुषाको कमला नगरपालिका वडा नं. ६ मा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दत्तले कमला नदीको पौराणिक इतिहास रहेको तथा तराई मधेशको लाईफलाईनको रुपमा रहेको कमला नदी संरक्षणको लागि केन्द्र सरकार समक्ष मुद्दा उठान गर्ने बताएका छन् ।
कमला बचाउ अभियानका संयोजक विक्रम यादवको पहलमा अभियानको साप्ताहिक कार्यक्रमलाई सम्बोधन तथा कमला नदीबाट प्रभावित क्षेत्रको अनुमगन गर्न पूर्वी धनुषाको सिँग्याही मडान पुगेका अध्यक्ष दत्तले कमला अभियानीहरु निस्वार्थ रुपमा बढाएको हातलाई सबै तवरबाट सहयोग गर्नुपर्ने बताए । उनले अभियानका सँयोजक विक्रम यादवले चालेको कदमलाई सराहना गर्दै संघीय सरकारले कमला बचाउको लागि ठोस कदम चाल्नुपर्ने बताए ।
कमला नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मो. समशुल मियाँको अध्यक्षता एवम् मधेशी आयोगका अध्यक्ष दत्तकै प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया एवम् जागरण कार्यक्रमको दौरान वृक्षारोपन गर्दै पर्यावरण बचाउनको लागि तथा कमला छेउका सर्वसाधारणलाई सहजताको लागि कमला संरक्षण अपरिहार्य रहेको औल्याए । उनले भने, - "कमला नदीको आफ्नो बेग्लै इतिहास छ , पौराणिक इतिहास छ, धार्मिक र साँस्कृतिक इतिहास छ, कमला नदीलाई जोगाउन सकियो भने यी सबैको संरक्षण एक साथ गर्न सकिन्छ । निराहार दिनरात खटेर विना कुनै स्वार्थको कमला बचाउ अभियानीहरु जुन तवरले आफ्नो सक्रियता बढाएको छ, तपाईहरु साथ दिनुभयो भने यो निकट भविष्यमै सम्भव छ ।"
कमला संरक्षणले ७ प्रकारको फाईदा पुग्ने जनाउँदै उनले आर्थिक, धार्मिक, सँस्कृतिक, पर्यावरण, कृषी, सिँचाईको लागि कमला नदी मधेशको लाईफलाईनको रुपमा रहेको औल्याएँ । कमला संरक्षणकै अभियान जुन तवरले सक्रियता पाएको छ, निरन्तरता पाएको छ, यसै हिसाबले अभियानीहरु आफ्नोे सक्रियता कामय राख्न सके उदेश्य निश्चित पूरा हुने उनले बताए ।
सो क्रममा अध्यक्ष दत्तले नेपालको प्रमुख संवैधानिक अंगमध्ये एक रहेको मधेशी आयोगले कमला छेउका वासिन्दको समस्या टिपोट गर्दै कमला बचाउ अभियानीले गरेको कार्य तथा राखेको भिजनलाई सराहना गरे । अभियानका सँयोजक यादवलाई उनले प्रशंसा गर्दै नदी तथा जलाधार संरक्षणको लागि आँट गरेको भन्दै सफलताको कामना समेत गरे । उनले भने, - "कमला बचाउको लागि कुनै राजनीतिक दलका व्यक्ति नभएर एक समाजका एक ढिक्का भएर काम गर्नुपर्छ । राजनीति आफ्नो ठाउँमा छ र समाजसेवा र भविष्य आफ्नो ठाउँमा छ । कमला नदीलाई संरक्षण गर्न सके यहाँको भविष्य उदमान हुनेछ ।"
चुरे विनासको कारणले कमला नदीको दुर्दशा भएको भन्दै यहाँका किसान,कृषक, युवा, व्यापारी तथा आम सर्वसाधारणहरुलाई निस्वार्थ भावनाले संरक्षणमा लाग्न आग्रह समेत गरे । सो क्रममा अध्यक्ष दत्तले कमला बचाउ अभियान लेखिएको टिसर्ट समेत अभियानीहरुलाई स सम्मान प्रदान गरेका थिए । अभियानप्रति लगाव राख्ने युवाहरुलाई टिसर्ट प्रदान उनले गरेका हुन् । अभियानका संयोजक यादवको पहलमा उक्त टिसर्ट वितरण गरिएको थियो ।
सो कार्यक्रमको क्रममा कमला नगरपालिकाका मेयर राम उदगार गोईतले कमला बचाउ अभियानलाई प्रशंसा गर्दै यसलाई राजनीतिकरण नगरी विशुद्ध समाज सेवाको भावनामा संचालन गर्न सके सफलता निकट भविष्यमै पाउने बताए । कमला नदीको धेरै भाग कमला नगरपालिकाको भूभागमा परेकोले यसको संरक्षणको लागि गर्नुपर्ने पहल र दिनुपर्ने योग्दानको लागि पछि नहटने बताए ।
कार्यक्रममा विशेष अतिथिको आसनबाट बोल्दै धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले कमला बचाउको अभियान यथार्थ, निस्वार्थ र विशुद्ध समाजसेवामा समर्पित रहेको भन्दै अभियानीहरुलाई अभियानलाई विश्राम नदिन आग्रह गरे । उनले अभियानमा राजनीतिक पार्टी भन्दा पनि कमला संरक्षण अभियानीको रुपमा संचालन हुन सुझाउँदै अभियानको लागि शहिदनगर नगरपालिकाबाट नीति तथा कार्यक्रममै बजेट विनियोजन गरेको बताए ।
कार्यक्रममा कमला बचाउ अभियानका संयोजक यादवले कमला बचाउ अभियान कुनै बजेटमा सँचालन नभई विशुुद्ध समाजसेवामा समर्पित रहेको बताए । उनले कमला बचाउको लागि जनतामा जनचेतना जगाउनु प्रथम चरण अन्तर्गत विभिन्न ठाउँमा अन्तरक्रिया एवम् जागरण अभियान सँचालन गरिएको बताउँदै कमला नदी संरक्षण गर्नको लागि सबैले साथ दिनुपर्ने आग्रह समेत गरे ।
सो कार्यक्रममा गान्धी पिस फाउण्डेशनका नेपालका प्रतिनीधि लालबहादुर राणा, सुरेन्द्र यादव, राजकिशोर सल्हैता, श्रीप्रसाद यादव, राजपाका नेता एवम् अभियानी बीरेन्द्र यादव, रामनाथ यादव, रिबाज अन्सारी, शिक्षक उमेश मण्डल सहित कमला नपा वडा नं. ४ का वडाध्यक्ष पल्टु कवारी, वडा नं.५ का वडाध्यक्ष शिवा पासवान, स्थानीय भद्र भलादमी, युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…