वर्षा र बाढीले रौतहटको यी बस्तीको बाटो नै बन्द, भएन मर्मत !
स्थानीयले भने, ‘सानोतिनो कामको लागि पनि अध्यक्षजीले दुःख दिनुहुन्छ, भनेको कुरालाई वास्ता गर्दैन, दलित निमुखालाई त झन हेर्नै चाँहदैन ।’

२०७६ साउन २ बिहीबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । भिषण वर्षा र विनाशकारी बाढीले रौतहटको दुर्गा भगवति गाउँपालिकामा एक बस्ती जोड्ने सडक भत्काई दिँदा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् ।
रौतहटको दुर्गा भगवति गाउँपालिका–४, पचरुखी छतौना टोल जोड्ने सडक अविरल वर्षापछिको बाढीले भत्काएपछि सवारी साधन आवतजावत अवरुद्ध बनेका छन् । एकमात्र बाटोको रुपमा रहेको सडक बाढीले भत्काई दिँदा त्यस सडकखण्डमा पैदल र साईकल बाहेक अन्य सवारी साधन आहोरदोहोर गर्न सकिरहेको छैन ।
गाउँ प्रवेशको भाग तथा अन्तिम भागको सडकमा वर्षा र बाढीका कारण खाल्डो बनेपछि सवारी साधन लिएर बाहिर जानका लागि बाटो नै बन्द भएको छ । घना घरधुरी रहेको उक्त बस्ती आहोरदोहोरको लागि सर्वसाधारणले सास्ती खेप्नुपरेपनि सरोकारबाला निकायले सडक मर्मतका लागि कुनै चाँसो नलिएको स्थानीयहरुले गुनासो पोखेका छन् ।
वडाध्यक्ष र पालिका नेतृत्वलाई सडक मर्मतका लागि पटकपटक आग्रह गरेपनि सुनुवाई नगरेको एक स्थानीयले भने । स्थानीय युवा तथा अभियन्ता संजय यादवले भने, ‘बाढीले सकड भत्काउँदा सवारी साधन आउने जाने बाटो नै पूर्ण रुपले अवरुद्ध छ । मोटरसाईकल समेत ओहोरदोहोर गर्न सकिरहेको छैन, यदि कुनैबेला कसैलाई ईमेर्जेन्सी पर्यो भने एम्बुलेन्स त परै जाओस् । वडाध्यक्षजी र गापामा जानकारी गराउँदा पनि वास्ता गरिएको छैन, जुन की त्यो सडक मर्मत गर्न ६–७ हजार भन्दाबढी लाग्दैन ।’
कुनैकामको लागि पटकपटक गुहार्दा पनि जनप्रतिनिधिले नसुने झैँ गरेको वडा ४ का सर्वसाधारणहरुको गुनासो छ । अन्य कामको लागि पनि पटकपटक कार्यालय धाउँन बाध्य बनाएर वडाध्यक्ष रामबाबु राय यादवले हैरान गर्ने गरेको एक स्थानीयले दुखेसो सुनाए । उनले भने, ‘सानोतिनो कामको लागि पनि अध्यक्षजीले दुःख दिनुहुन्छ, भनेको कुरालाई वास्ता गर्दैन, दलित निमुखालाई त झन हेर्नै चाँहदैन ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…