जनकपुरमा प्रहरी र युवाहरुबीच झडप !
अर्को तर्फ उनीहरुकै सहमतिमा विज्ञापन प्रकाशित गरिएको पनि टिकाटिप्पणी समाजिक सँजालमा गरिएको छ ।

२०७६ जेठ २१ मंगलबार, बेलुकी ७:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज साँझ नेपाल प्रहरी र युवाहरुबीच समान्य झडप सहित धरपक्कड भएको छ ।
लोक सेवा आयोगले निकालेको विज्ञापनमा मधेशी कोटा कटौती गरेको भन्दै उनीहरु लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुतला दहन गर्ने क्रममा युवा र प्रहरीहरुबीच झडप भएको हो । जनकपुरबाट युथ एक्सन फोर्सका अध्यक्ष प्रशान्त झाको अगुवाईमा जनकपुरको भानुचोकमा प्रदर्शन गर्दै पुतला दहन गर्न खोजेपछि तनाव उत्पन्न भएको थियो ।
युवाहरुले लोक सेवा आयोगको विज्ञापन नसच्चाए कडा संघर्ष गर्ने चेतावनी दिँदै लोक सेवा आयोगका अध्यक्ष मैनाली र समान्य प्रशासन मन्त्री लालबाबू पण्डितको सँयुक्त रुपमा पुतला दहन गरिएको हो । जनकपुरको भानुचोकमा दुवै जनाको पुतला बनाएर दहन गर्ने क्रममा प्रहरीले तत्कालै पुतला खोस्ने प्रयास गरेपछि समान्य झडप सहित भागदौड भएको थियो ।
लोक सेवा आयोगले निकालेको स्थानीय तहको कर्मचारी भर्नामा मधेशी, महिला, दलित , अल्पसँख्यक, सीमान्तकृतलाई उपेक्षा गरेको भन्दै विद्यार्थीहरु सहित लोक सेवाका तयारी गरिरहेका मधेशी मूलका नेपालीहरुले आयोग विरुद्ध खनिएका छन् । यसका साथै राष्ट्रिय जनता पार्टी नेपालले समेत संसदमा लोक सेवा विज्ञापन सच्याउनुपर्ने माग उठाएका छन् ।
राजपाका नेताहरुले संघीय सँसदमा लोक सेवा आयोगकोे विज्ञापन सच्याउनुपर्ने माग निरन्तर रुपमा गरिरहेका छन् भने सबै साँसदहरुको सहमतिमै बहुमतको आधारमा लोकसेवाले पत्रिकामा विज्ञापन निकालेको बुझिएको छ । एकातर्फ मधेशी दलका नेताहरुले लोकसेवा विज्ञापनको विरोध गरी विद्यार्थीहरुलाई उक्साएको देखिएको छ भने अर्को तर्फ उनीहरुकै सहमतिमा विज्ञापन प्रकाशित गरिएको पनि टिकाटिप्पणी समाजिक सँजालमा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…