मिर्चैयामा ३ करोड लागतको धर्मशाला शिलान्यास, १ करोडको जग्गा समाजको नाम !
निर्माण हुन लागेको धर्मशाला समुदायका विभिन्न गतिविधि सञ्चालनका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

२०७६ बैशाख २८ शनिबार, दिउँसो २:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा ठूलो लगानीको धर्मशाला बन्ने भएको छ । मिर्चैया–६ मटियर्वामा करिब तीन करोड लागतको धर्मशाला निर्माण गर्न लागिएको हो ।
मिर्चैयामै पहिलो पटक निर्माण गर्न लागिएको विशाल ‘सुडी समाज धर्मशाला’को शनिवार एक समारोहबीच विधिवत् रुपमा शिलान्यास गरिएको छ । धर्मशालाका लागि जग्गा दान गरेका चारजना दाताहरुले संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका हुन् ।
धर्मशाला निर्माणका लागि स्थानीय लक्षमण साह, मिर्चैया नगरपालिकाकी उपमेयर जिवछी देवी साह, बेचन साह र राजकुमार साहले जग्गा दान गरेका छन् । साढे २ कठ्ठा क्षेत्रफल रहेको उक्त जग्गाको अनुमानित मूल्य करिब १ करोड रहेको बताइएको छ ।
दाताहरुकै आर्थिक सहयोगमा बनाउन लागिएको उक्त धर्मशाला निर्माणमा सघाउको लागि नगरपालिका र सांसदहरुलाई समेत अपिल गर्ने निर्माण समितिका अध्यक्ष राजेश्वर प्रसाद साहले बताए ।
निर्माण हुन लागेको धर्मशाला समुदायका विभिन्न गतिविधि सञ्चालनका लागि उपयोगी हुने विश्वास गरिएको छ । सबैथोक जुटाएर धर्मशाला निर्माणको काम ३ वर्षभित्रै सकाउने निर्माण समितिले लक्ष्य लिएको छ ।
धर्मशाला शिलान्यास समारोहमा नेपाल सुडी कल्याण समाज समिति सिरहाका अध्यक्ष टुलन महतो, महासचिव ब्रहमदेव साह, वरिष्ठ उपाध्यक्ष विश्वनाथ पूर्वे, स्थानीय किशोरी साह, भोला साह, भरत महासेठ लगायत स्थानीय नागरिकसमाज, समाजसेवी, बुद्धिजिवी, राजनीतिकर्मी, अगुवा लगायतको उल्लेख्य सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…