विद्यालय नै भ्रष्टाचारको अखाडा : औरहीको सुन्दर जनता माविमा तालाबन्दी
व्यापक भ्रष्टाचार भएकै कारण हरहिसाब पारदर्शी गर्न बहानाबाजी ।

२०७५ माघ २३ बुधबार, बेलुकी ६:३८ बजे१ मिनेट पढाइ

सिरहा, २३ माघ । सिरहाको औरही गाउँपालिका–५ मा अवस्थित सुन्दर जनता माविमा तालाबन्दी गरिएको छ । विभिन्न माग राख्दै आन्दोलनमा रहेका पक्षले सम्बन्धित निकायहरुलाई माग पूरा गर्न पटकपटक आग्रह गरेपनि वास्ता नगरिँदा तालाबन्दी गरेको हो ।
वर्षौदेखि सरस्वती मन्दिर निर्माणका लागि विद्यार्थीबाट चन्दा लिएको तर हाल सम्म मन्दिर निर्माण नभएको, विद्यालयमा कहिल्यै सातै घन्टी पढाई नहुने गरेको, पुस्तकालयको ब्यबस्था नभएको, बिज्ञान ल्याब नभएको तर बिज्ञान ल्याबको सामान ल्याएको भन्दै फर्जी बिल पेश गरेको, कम्प्युटर ल्याब नभएको, किताबकै भरमा विद्यार्थीहरु कम्प्युटर पढिरहेको, सौचालय व्यबस्थित नभएको, विद्यालयको खाताबाट पेस्कीको नाममा करिब २८ लाख रुपैया अनियमितता गरेको जस्ता विभिन्न वेथिति र विद्यालयको आर्थिक पारदर्शिताको माग राखेर आन्दोलनरत पक्षकोे माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गरेको विद्यार्थी रुपेश यादवले बताए ।
आन्दोलत पक्षको मागहरु लामो समयसम्म विद्यालय प्रशासनले पूरा नगरेको र प्रधानाध्यापक ईन्द्रदेब यादवले यसरी आन्दोलन गरे सबैको भविष्य बिगारिदिने भनी धाकधम्की दिँदै आएको उनीहरुले आरोप लगाएको छ ।
आन्दोलनरत पक्षले विद्यालयमा देखिएका विभिन्न वेथितिहरुको समाधानको मागसहित यसअघि धर्ना समेत बसेका थिए । तर, हालसम्म विद्यालय प्रशासनबाट भने कुनै मतलब देखिएको छैन ।
विभिन्न समस्याका कारण विद्यालयमा शैक्षिक वातावरण अस्तव्यस्त बनेको र शैक्षिक संस्थामा शैक्षिक वातावरण उपर नाकारात्मक प्रभाव परेको भन्दै स्वतन्त्र युवा समाजले सरोकारवाला निकायहरुलाई माग पूरा गर्न ज्ञापनपत्र समेत बुझाएको थियो ।
समाजले गापा प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, गापा शिक्षा समिती, वडा ४ र ५ को कार्यालय र विद्यालयका प्रधानाध्यापकलाई समेत ज्ञापनपत्र बुझाएको समाजका अध्यक्ष दीपेन्द्र यादवले जनाए ।
विद्यालयमा व्यापक भ्रष्टाचार भएकै कारण हरहिसाब पारदर्शी गर्न बहानाबाजी हुँदै आएको उनीहरुको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…