नेताको कुर्सीमोहमा सहिदको सपना पूरा भएन, युवाहरु बौद्धिक लडाईका लागि तयार रहौं : SYN
मधेशवादी दलले सधैं स्वार्थको राजनीति गर्दै आएको ठहर ।

२०७५ माघ ६ आइतबार, बिहान ६:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाका युवाहरूको साझा सामाजिक संगठन सिरहा युवा संजालले १२ औं बलिदानी दिवस मनाएको छ । मधेश विद्रोहका प्रथम सहिद रमेश महतोको सम्मानमा मनाइने बलिदानी दिवस संजालले मैनवत्ति प्रज्वलन गरेर मनाएको हो ।
संजालले शनिबार बेलुका सिरहाको गोलबजार गोलपार्कमा संजालसँग आवद्ध युवाहरूले सामूहिक रुपमा मैनवत्ति प्रज्वलन गरेर वीर सहिदहप्रति सम्मान अर्पण गरेका छन् ।
संजालका अध्यक्ष नागेश्वर रायको नेतृत्वमा भएको मैनवत्ति प्रज्वलन कार्यक्रममा सयौं युवाहरुको सहभागिता थियो । श्रद्धाञ्जली सभामा सहभागीहरुले सहिदको सम्मानमा १ मिनेट मौन धारण समेत गरेका थिए ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष रायले मधेश आन्दोलनले मुलुकमा धेरै परिवर्तन ल्याएको बताउँदै मधेश विद्रोहले नै नेपालका सम्पूर्ण उत्पीडित जातजातिहरुलाई शासकको शासनबाट मुक्त गरी खुलेर बाँच्ने अधिकार प्रदान भएको बताए । उनले विभेद अझ कायम रहेको भन्दै यसका लागि अब युवाहरुले मैदानमा होमिनुपर्ने औल्याए ।
यसैगरी, संजालका संस्थापक आभाष सिंहले मधेश विद्रोहबाटै स्थापित मधेशवादी दलहरूले कुर्सीको मोहमा डुबेका कारण अझ सहिदहरुको सपना पूरा भइनसकेको भन्दै युवाहरुलाई बौद्धिक लडाईको लागि तयार रहन आग्रह गरे ।
संजालले सिरहामा समयसमयमा विभिन्न समाजिक कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…