मधेसमा सामाचकेवाको रौनक
सामा खेले चलली सखी सँग सहेली हो। साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है |

२०७५ मंसिर १ शनिबार, बिहान ८:१२ बजे५ मिनेट पढाइ

न्यूज ब्यूरो, मधेस । तराई मधेसमा भाईबहिनीबीचको प्रेम प्रतीक झल्काउने पौराणिक सामाचकेवाको रौनक छाएको छ ।
चार दिवसीय छठ पर्व अन्तर्गत दोस्रो दिन खरना दिनदेखि विधिवत सुरु हुने सामा चकेवाको रौनकले अहिले छठ पूजा समाप्त हुदा तराई मधेसमा छाउने खल्लोपनलाई टालेको देखिन्छ ।
तराई मधेसको धनुषा, महोत्तरी, सिरहा, रौतहट, सर्लाही, सप्तरी, बारा, पर्सा आदि जिल्लाहरु सहित मधेसका ग्रामीण भेगमा रात परेपछि सानी नानी ( बहिनी) हरुको सामाचकेवाको गीतले गुञ्जयमान पारेको देखिन्छ ।
ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केहि कमी आएको महशुस गर्न थालिएको छ ।
यस पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ । यस पर्वमा यो र यसै कथानकसँग जोडिएका पात्रहरू शाम्बा सामा, चकेवा चारुवाका अतिरिक्त शाम्ब, सतभैया, खडरीच, चुगलाचूडक, वृन्दावन, चौकीदार, झांझी, कुकुरकुत्ता आदिको माटोको मूर्ति निर्माण गरी असाध्यै रोचक अभिनय गरिन्छ । सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ ।

त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ । यसका साथै बृन्दावन जङ्गल, भूठो कुरा लगाउने चुगलखोरका साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्न रङ्गमा रङ्गने कार्य गरिन्छ ।
दाजु र बहिनीबीचको आत्मीय प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन् ।
तराई मधेसको लोकनाटकको झझल्को दिने यस पर्वका दुईवटा प्रमुख पात्र हुन्छन् सामा र चकेवा । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र । काँचो माटोको बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ त्यसैगरी समाजको खलपात्रको प्रतीकको रूपमा चुक्ली लगाउने अर्को पात्र चुगला पनि हुन्छ ।
विभिन्न पात्रको प्रतीकको रूपमा बनाइएको माटोका मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल पञ्चमीको साँझदेखि टोलछिमेकका दिदी बहिनीहरू गाउँको बाहिर खुला ठाउँमा एकभित्र भई सामाचकेवासम्बन्धी गीतहरू गाउँछन् र अभिनय गर्दछन् । यस क्रममा समूहमा महिलाहरू डालोढाकीमा मूर्तिहरू सजाउँदै कार्तिकको शुक्लपक्ष पञ्चमीको बेलुकाबाट शुरु गरी गाउँगाउँको दोबाटो, चौबाटो, चौक आदि स्थलमा भेला भई लोकगीत गाउँदै नृत्य गर्दछन् ।
सामा खेले चलली सखी सँग सहेली हो। साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है।।
चुगला करे चुगलपन बिलैया करे म्याउँऊं, चुगला के जीव हम नोची नोची खाउँ ।
जस्ता लोकगीत गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँघालाई प्रत्येक दिन डढाउँदै त्यस चुगलाको प्रतिमालाई महिलाहरू कुटेपिटे झैं पनि गर्दछन् । गीतमा आफ्ना दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ ।
यस पर्वमा सवैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आपूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन् । जुन यस प्रकारका छन् ।
गामके अधिकारी तोहे बड्का भैंया हो ।
भैया, पोखरी खुनाइ दिह, चम्पा फूल लगाइ दिह हो ।।
अर्थात, गाउँको अधिकारी वा गाउपालिकामा निर्वाचित पदाधिकारीका रुपमा रहनु भएका दाजुलाई सम्बोधन गर्दै गाउँमा पोखरीको निर्माण गर्नु र फूल रोप्न अर्थात विकास निर्माणको कार्य गर्न गीतको माध्यबाट आग्रह गरिन्छ ।
यस पर्वमा विभिन्न प्रकारका सयौं लोकगीतहरु गाउने गरिन्छ । गीतको माध्यमबाट दिदीबहिनीले दाजुभाइलाई सुखदुःख सुनाउने र उपभोग्य वस्तुहरुको पनि माग गर्ने गरिन्छ ।
त्यसैगरी सामा–चकेवालाई शीत र दूबो खुवाइन्छ । सामा–चकेवालाई शीत र दूबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बीचमा राखी त्यहाँ उपस्थित दिदीबहिनीहरू वृत्ताकारमा बस्दछन् र टोकरीलाई दाहिने हातले एकले अर्कालाई दिंदै बाँया हातले फेरि लिने गर्दछन् । दिने र फर्काउने यो क्रम नथाकेसम्म गीत गाउने र अभिनय गर्ने क्रम चलिरहन्छ ।
त्यसपछि असत्य, पाप र असामाजिक तत्वको प्रतीकको रूपमा रहेको चुक्ली लगाउने पात्रको जीउमा आगो लगाइन्छ । त्यसपछि दिदी–बहिनीहरू सामा–चकेवाको गीत गाउँदै आ–आफ्नो घर फर्कन्छन् । घर पुगेपछि सामा–चकेवाको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ । यो क्रम पञ्चमीदेखि चतुर्दशीका दिनसम्म चलिरहन्छ र पूर्णिमाका दिन यो लोकपर्वको विसर्जन गरिन्छ ।
पूर्णिमाका दिन बिहान मूर्तिलाई सफासुग्घर बनाई रङरोगन गरी विशेष किसिमले सजाइन्छ । त्यसपछि किशोरीहरूले आँफूले गाउँगाउँ डुली अभिभावकवर्गबाट सङ्कलन गरेको रकम र अन्नादिको उपयोग गरी तैयार गरिएको प्रसाद दही, चिउरा, चिनी र मिठाईसहित विभिन्न परिकारको भोजन तैयार गर्दछन् । साँझ सर्वप्रथम मूर्तिहरूलाई भोजन गराइन्छ अनि त्यसपछि दिदी–बहिनीहरूले आआफ्ना दाजुभाइलाई मूर्तिकै जुठोस्वरूप त्यही भोजन प्रसादका रूपमा दिन्छन् ।
प्रसाद ग्रहण गरेपछि दाजुभाइले ती मूर्तिलाई आफ्नो घुँडामा राखी भाँच्छन् । त्यसबेला दाजुभाइले दिदीबहिनीलाई नगद, गहना, लुगा कपडा आदि उपहार दिन्छन् । अनि सामा, चकेवा र अन्य भाँचिएका मूर्तिहरूलाई गाउँनजीकैको खोला, पोखरी वा तलाउमा विसर्जित गरिन्छ, तर चुगलाको मुर्तिलाई भने फोहोर ठाउँमा (शौचालय क्षेत्र) मा फ्याल्ने गरिन्छ र यस पर्वको समापन गरिन्छ ।
यस्तो छ धार्मिक मान्याता
भगवान कृष्णकी छोरीको नाम सामा थियो । आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाई साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो ।
भविष्य पुराणमा उल्लेख गरिएअनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवशेमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो ।
सामाको भाइ साम्बले जव यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनका लागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सवै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो ।
भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अवदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिनुभएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…