पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष साह विरुद्ध अविश्वास प्रस्ताव दर्ता
समाजिक संजालमा आफनै शाखाका पदाधिकारी तथा सदस्यका विरुद्ध अश्लिल शब्द तथा गालीग्लौजहरु प्रयोग गरेको प्रमाणहरु फेला पर्दा अविश्वास ।

२०७५ असोज २ मंगलबार, बिहान ९:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष रबीन्द्रप्रसाद साह विरुद्ध ५३ जना सदस्यहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव सोमवार दर्ता गराएका छन् ।
गौर स्थित नेपाल पत्रकार महासंघको कार्यालयमा अध्यक्ष साह विरुद्ध ५३ जना सदस्यहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । दर्ता गराइएको अविश्वासको प्रस्तावमा शाखा अध्यक्ष साहले विधान अनुसार निर्णय तथा कार्य गर्नुपर्नेमा त्यसो नगरी आफूखशी विभिन्न निर्णयहरु गरेर महासंघकै गरिमा तथा छविमा आघात पुर्याएकोमा अविश्वासको प्रस्ताव ल्याउन बाध्य भएका छौं' भनेर भनिएको छ ।
नेपाल पत्रकार महासंघको संशोधित विधान २०७३ को परिच्छेद ४ को दफा १५ को क देखि छ सम्मको बुंदामा उल्लेख नभए अनुसार कार्यवाहीका लागि ७६ जना सदस्यहरु मध्ये ५३ जना सदस्यहरु हस्ताक्षर गरेर महासंघमा अध्यक्ष साह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको महासंघको पूर्व अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिए ।
अध्यक्ष साहले कार्य समितिको निर्णय विना नै लाखौं रकम अनियमितता गरेको, विधान विपरित जथाभावी पदाधिकारी र सदस्यलाई निलम्बन तथा कनिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको, विभिन्न संघसंस्थाहरुबाट रकम उठाई कमाईखाने साधनको रुपमा प्रयोग गरेको, अध्यक्ष जस्तो गरिमा पदमा बसी पत्रकार आचारसंहिता विपरित स्वयम विभिन्न क्रियाकलाप गर्ने गरेको, समाजिक संजालमा आफनै शाखाका पदाधिकारी तथा सदस्यका विरुद्ध अश्लिल शब्द तथा गालीग्लौजहरु प्रयोग गरेको प्रमाणहरु फेला पर्दा सक्रिय पत्रकारहरु लगायत महासंघका सदस्यहरुले बाध्य भएर यस्ता व्यक्तिलाई हटाएर महासंघको गरिमालाई जोगाउनका लागि अविश्वासको प्रस्ताव आज दर्ता गराइएको झाले बताए ।
नेपाल पत्रकार महासंघको इतिहासमा नै नभएको कार्यको अभ्यास रौतहटबाट सुरु भएको हुँदा, यहाँबाट सुधारको लागि हामी लगायतका दुई तिहाई भन्दा बढि सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराएकोमा आज देखि अध्यक्ष साह स्वतः निलम्बन भएकोमा कार्यवाहक अध्यक्षमा उत्तककुमार उपाध्याय सक्रिय भएको पूर्व अध्यक्ष झाले प्रष्ट पारे ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष उत्तमकुमार उपाध्यायले ५३ जना सदस्यहरुको हस्ताक्षर सहितको पत्र अध्यक्ष साहको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको स्वीकार गरे । दर्ता भएका अविश्वासको प्रस्ताव सन्दर्भमा केन्द्र संग समन्वय गरेर आवश्यक कारवाही अगाडी बढाउने उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…