न्यूज ब्यूरो, जनकपुरधाम । भारतको मध्य प्रदेशस्थित उज्जैनमा सडक विस्तारका क्रममा करिब १७० वर्ष पुरानो ‘खडे हनुमान’ मन्दिरको संरचना हटाइए पनि त्यहाँको हनुमान प्रतिमा भने आफ्नो स्थानबाट हल्लाउन नसकिएपछि घटना चर्चामा आएको छ ।
सिंहस्थ–२०२८ को तयारीअन्तर्गत कंठाल चौराहादेखि गोपाल मन्दिरतर्फ सडक चौडा गर्ने क्रममा उक्त मन्दिर सडक विस्तारको योजनामा परेको थियो । मन्दिरको बाहिरी संरचना हटाइए पनि करिब ८ फिट अग्लो हनुमान प्रतिमा भने स्थानान्तरण गर्न प्रशासन सफल हुन सकेन ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार प्रतिमा सार्न चार दिनसम्म चार पटक प्रयास गरिएको थियो । भारी मेसिन प्रयोग गरिए पनि प्रतिमा आफ्नो स्थानबाट नहल्लिएपछि प्रशासनका लागि सडक विस्तार योजना थप जटिल बनेको हो ।
घटनापछि स्थानीय श्रद्धालु तथा धार्मिक समूहले प्रतिमालाई क्षति पुग्ने गरी हटाउने प्रयास नगर्न प्रशासनसँग माग गरेका छन् । प्रतिमा नहल्लिएको घटनालाई कतिपय श्रद्धालुले धार्मिक आस्थासँग जोडेर ‘चमत्कार’को संज्ञा दिएका छन् । तर प्रतिमा किन नहल्लिएको हो भन्ने विषयमा हालसम्म वैज्ञानिक निष्कर्ष सार्वजनिक भएको छैन ।
यस विषयमा प्राविधिक अध्ययनका लागि उज्जैन नगर निगमले भारतीय प्रविधि संस्थान (आईआईटी) इन्दौरका विशेषज्ञको सहयोग मागेको छ । आईआईटीको टोलीले प्रतिमा जमिनभित्र कति गहिराइसम्म रहेको छ तथा आसपासको माटो र संरचनाको अवस्था कस्तो छ भन्ने विषयमा अध्ययन थालेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
प्रशासनले प्रतिमा सुरक्षित रूपमा स्थानान्तरण गर्न सकिने वा नसकिने तथा स्थानान्तरण गर्नुपर्ने भए कुन प्रविधि प्रयोग गर्ने भन्ने निर्णय आईआईटीको प्राविधिक प्रतिवेदनपछि गर्ने बताएको छ । हाल प्रतिमालाई अस्थायी छानामुनि सुरक्षित राखिएको छ ।
यसैबीच, प्रतिमा हटाउने प्रयास असफल भएपछि प्रशासनले तत्कालका लागि थप प्रयास रोकिएको जनाएको छ । श्रद्धालुको ठूलो भीडसमेत बढ्दै गएपछि घटनाले उज्जैनमा ‘विकास कि आस्था’ भन्ने बहससमेत निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
घटनाबारे सामाजिक सञ्जालमा भने ‘क्रेनले समेत हनुमानको प्रतिमा हल्लाउन नसकेको’ भन्दै विभिन्न धार्मिक दाबी र भिडियोहरू भाइरल भइरहेका छन् । तर प्रशासन तथा प्राविधिक पक्षबाट भने यसको कारणबारे अध्ययन भइरहेको छ ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८३ भदौ २६ शुक्रबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्






