Close This

जनकपुरधामभित्र अनुमति अनुसार मात्र कक्षा गर्न निर्देशन, अटेरी गरे कडा कारवाही गरिने

२०८३ बैशाख ३१ बिहीबार
बेलुकी ५:५७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।   जनकपुरधाम उपमहानगरपालिकाद्वारा निजी तथा आवासीय विद्यालयलाई अनुमति अनुसार मात्र कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी तथा आवासीय विद्यालयहरूलाई स्वीकृत अनुमति अनुसार मात्र कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। शिक्षा, युवा तथा खेलकुद विकास शाखाबाट जारी सूचनामार्फत शैक्षिक सत्र २०८३ देखि लागू हुने गरी यस्तो निर्देशन जारी गरिएको हो।

उपमहानगरपालिकाले कुनै पनि विद्यालयले अनुमति प्राप्त गरेको कक्षाभन्दा माथिल्लो तहका कक्षा सञ्चालन गरेको पाइएमा आवश्यक कारबाही गरिने चेतावनी दिएको छ। सूचनामा भनिएको छ कि जुन शैक्षिक संस्थाले जति कक्षासम्म सञ्चालनको अनुमति प्राप्त गरेको छ, सोही अनुसार मात्र कक्षा सञ्चालन गर्नुपर्नेछ।

त्यसैगरी, अनुगमनका क्रममा नियम विपरीत विद्यालय सञ्चालन भएको पाइएमा वा अनुमति नलिएको संस्था सञ्चालनमा रहेको भेटिएमा अवैध सूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

उपमहानगरपालिकाले अभिभावकहरूलाई समेत विद्यार्थी भर्ना गराउँदा सम्बन्धित विद्यालयले कुन कक्षासम्म अनुमति प्राप्त गरेको हो भन्ने कुरा अनुमति पत्र हेरेर यकिन गर्न आग्रह गरेको छ। विद्यालयमा शिक्षक तथा कर्मचारी व्यवस्थापनसमेत स्वीकृत मापदण्डअनुसार गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

यो सूचना शिक्षा युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख अन्जु पाण्डेयद्वारा जारी गरिएको हो।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०८३ बैशाख ३१ बिहीबार

Bureau Menus