सामाजिक सुरक्षा भत्ता, तलब भुक्तानी र स्वास्थ्य सेवामा सुधारको मागसहित कमला नपामा ज्ञापन
नागरिकहरूले नगरपालिकाभित्र भ्रष्टाचार र अनियमितता बढ्दै गएको आरोपसमेत लगाएका छन्। विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक कार्यमा पारदर्शिता अभाव रहेको भन्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।

२०८२ चैत १२ बिहीबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिकाका सचेत नागरिकहरूले विभिन्न जनसरोकारका मुद्दा उठाउँदै नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएका छन्।
नागरिकहरूले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ, शिक्षक तथा कर्मचारीको तलब भुक्तानीमा समस्या, स्वास्थ्य सेवाको कमजोर अवस्था तथा बढ्दो भ्रष्टाचारप्रति गम्भीर ध्यानाकर्षण गराएका हुन्।
ज्ञापन पत्रमा लामो समयदेखि सामाजिक सुरक्षा भत्ता वितरण नभएको उल्लेख गर्दै ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरू दैनिक जीवन चलाउन कठिनाइमा परेको जनाइएको छ। यसैगरी, नगरपालिकाभित्रका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले समयमै तलब नपाएको विषयलाई पनि प्रमुख समस्याका रूपमा उठाइएको छ, जसले सेवा प्रवाहमा प्रत्यक्ष असर पारिरहेको नागरिकहरूको भनाइ छ।
त्यस्तै, नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि र सेवा अभाव रहेको, बिरामीहरूले समयमै उपचार नपाउने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। यसले आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा जोखिम बढाएको भन्दै तत्काल सुधारको माग गरिएको छ।
नागरिकहरूले नगरपालिकाभित्र भ्रष्टाचार र अनियमितता बढ्दै गएको आरोपसमेत लगाएका छन्। विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक कार्यमा पारदर्शिता अभाव रहेको भन्दै दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।
ज्ञापन पत्रमार्फत नागरिकहरूले आफ्ना सात बुँदे मागहरू अघि सारेका छन्, जसमा सामाजिक सुरक्षा भत्ता तत्काल वितरण, कर्मचारी तथा स्वास्थ्यकर्मीको बाँकी तलब भुक्तानी, स्वास्थ्य सेवामा सुधार, समस्याहरूको निष्पक्ष छानबिन, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा पारदर्शिता र नगरसभामार्फत मागहरूको शीघ्र कार्यान्वयन प्रमुख रहेका छन्।
नागरिकहरूले ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्न आग्रह गर्दै ७ दिनभित्र समस्याहरू समाधान नभए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।
कमला नगरपालिकाका सचेत नागरिकहरुमध्ये बीरेन्द्र मुखियाको अगुवाईमा गएको एक समूहले ज्ञापन पत्र बुझाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…