धनुषामा मल्लाह जातिको कमला पुजा धुमधामसाथ सम्पन्न
महापुजाका मुख्य पुजारी सहनी मल्लाहको नेतृत्वमा दुई दर्जन भन्दा अधिक महिला-पुरुषहरुले देवता खेल्ने गर्दछन् भने भुत-प्रेत लगायतका समस्याबाट ग्रसीत पीडीत व्यक्तिहरुलाई भगताद्धारा उपचार समेत गर्ने गरिन्छ ।

२०८२ माघ २९ बिहीबार, बिहान ८:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ७ मट्टहीमा गाउँमा मल्लाह जातिहरुले जातिय महापूजा बुधबार धुमधामसाथ सम्पन्न भएको छ ।
मल्लाहको मुख्य देवताको रुपमा रहेको (कमला पुजा) जल अर्थात पानीकी देवी कमला महारानी, कोइलाबीर, दयालसिंह, मातैर, शिवधर पजीयार सहित ५६ करोड देवी–देवताको यस महापुजामा भाग दिएर आव्हान गर्ने गरिन्छ ।
मल्लाह जातिहरुको रोजीरोटीको उपाय मुख्य रुपले पानीबाट नै भएको कारण मल्लाह जाति सार्वजनिक रुपमै घर–घरबाट चन्दा असुल गरि यस जातिय महापुजाको आयोजन गर्ने गरिन्छ । पानीको मुख्य देवता कमला कोइलाको महापुजा गर्नाले पानीमा काम गर्ने यस जातिहरुको सुरक्षा कमला महारानीले गर्ने गरेको विश्वास उनीहरुसंग रहेको छ ।
विभिन्न नदी, ताल, पोखरीमा पानी भित्र प्रवेश गरेर प्रत्येक दिन काम गर्दै आइरहेका यस जातिलाई पानी भित्र रहेको विषैला जीवजन्तुहरु बाट सुरक्षाको साथै दैनिक जीवनमा पनि सबै मनोकामना पूरा हुने जनविश्वास रहेको बताउँदै सहनीले यस महापूजामा जातिय मुख्य देवी–देवताका साथै छप्पन करोड देवी–देवतालाई आव्हान गरि पूजा गरिने गरेको बताए ।
मट्टही गाउँमा ६५ घरधुरि रहेको मल्लाह जातिहरुका यो सार्वजनिक पूजा पहिले प्रत्येक वर्ष हुने गर्दथ्यो तर केहि समय यता आएर प्रत्येक दुई वा तीन वर्षमा आयोजन हुने गर्दछ ।
कुल देवताको यस सार्वजनिक महापूजाबाट बाल(बालिका सहित सबैलाई कल्याण हुन्छ भन्दै पूजा समितिका धनराज सहनी मल्लाहले गाउँको चारै तिरबाट रक्षा हुनुको साथै उत्तरोतर प्रगती पनि हुने गरेको बताए ।
उनले भने पूजापछि वर्षभरि हामीहरु आफुलाई सुरक्षित महसुस गर्ने गर्दछौ भने कार्य गर्नमा पनि उत्साह एवं पुर्नताजगी जस्तो महसुस हुने गर्दछन् ।
महापुजाका मुख्य पुजारी सहनी मल्लाहको नेतृत्वमा दुई दर्जन भन्दा अधिक महिला-पुरुषहरुले देवता खेल्ने गर्दछन् भने भुत-प्रेत लगायतका समस्याबाट ग्रसीत पीडीत व्यक्तिहरुलाई भगताद्धारा उपचार समेत गर्ने गरिन्छ ।
यस महापूजामा अक्षत, पान, सुपारी, लंग, खैनी–पीनी, अरबा चामलको भूजा, चीनीको लडु, खीर, रक्सी सहितका सामाग्रीहरु प्रसादको रुपमा चढाउने गरिन्छ ।
त्यस्तै पूजामा एक दर्जन भन्दा बढी खसी–बोका एवं मुर्गाको बली प्रदान गरिन्छ भने आफ्नो भाँकल पूरा भएको गाउँका अन्य जातिका व्यक्तिहरुले पनि बली प्रदान गर्ने गरिन्छ ।
यस महापुजाको आयोजनका लागि मट्टही गाउँमा बस्ने मल्लाह जातिहरुले चन्दा सहयोग दिने गर्दछन् भने पूजा पश्चात चन्दादाताको हरेक घरमा प्रसाद वितरण गर्ने गरिन्छ । पूजा भएको बेला दर्शकहरुको अत्यधिक भीडभाड हुने गरेकोले सुरक्षार्थ हेतु १५ २० जना युवाहरु स्वयं सेवकको रुपमा परिचालन हुने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…