सिन्धुलीको गौत्तमी नदी र कमलाको सँगमस्थलमा पहिलो पटक भव्य कमला आरती
न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक आस्था, सांस्कृतिक चेतना र वातावरण संरक्षणलाई जोड्दै सिन्धुली जिल्लाको गौतमी र कमला नदीको संगमस्थलमा शुक्रवार पहिलो भव्य कमला सन्ध्या आरती सम्पन्न भएको छ। पवित्र कमला नदीको महिमा उजागर गर्ने र संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्य

२०८२ माघ २४ शनिबार, बिहान ११:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक आस्था, सांस्कृतिक चेतना र वातावरण संरक्षणलाई जोड्दै सिन्धुली जिल्लाको गौतमी र कमला नदीको संगमस्थलमा शुक्रवार पहिलो भव्य कमला सन्ध्या आरती सम्पन्न भएको छ। पवित्र कमला नदीको महिमा उजागर गर्ने र संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमले स्थानीय स्तरमै नयाँ धार्मिक–सांस्कृतिक पहिचान स्थापित गरेको छ।
कमलामाई मन्दिर व्यवस्थापन समिति र कमला बचाउ अभियान जनकपुरको संयुक्त आयोजनामा सम्पन्न आरतीमा स्थानीय श्रद्धालु, जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकायका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आरतीका क्रममा दीप प्रज्वलन, वैदिक मन्त्रोच्चारण र भजन–कीर्तनले संगमस्थललाई आध्यात्मिक वातावरणले भरिपूर्ण बनाएको थियो।
कार्यक्रममा बोल्दै कमला बचाउ अभियानका अभियन्ता बिक्रम यादवले कमला नदी केवल धार्मिक प्रतीक नभई मानव सभ्यताको आधार भएको उल्लेख गर्दै भने, “नदी संरक्षण जीवन र भविष्यको संरक्षणसँग जोडिएको विषय हो र यसका लागि स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म साझा पहल आवश्यक छ।” त्यस्तै, कमलामाई क्षेत्रका अभियन्ता विश्वनाथ वरालले नदीको स्वच्छता र निरन्तरताले सांस्कृतिक तथा प्राकृतिक सम्पदाको रक्षा हुने धारणा व्यक्त गरे।
कमलामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले गौतमी र कमला नदीको संगमस्थलमा पहिलो पटक सन्ध्या आरती सञ्चालन गरिएको जानकारी दिँदै, आगामी दिनमा यसलाई नियमित रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले भने, “आरतीले धार्मिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।”
चुरे पहाडको काखमा उद्गम भएको कमला नदी मधेश प्रदेश हुँदै भारतको बिहारसम्म बग्दै विभिन्न स्थानमा देवीका रूपमा पूजा हुँदै आएको छ। युगौँदेखि आस्था र संस्कृतिसँग जोडिएकी कमला नदी हाल दोहन, प्रदूषण र अतिक्रमणको चपेटामा परेको बताइन्छ। सहभागीहरूको भनाइ अनुसार यस सन्ध्या आरतीले संरक्षणको सशक्त सन्देश दिएको छ।
स्थानीयवासीहरूले धार्मिक आस्था र वातावरणीय जिम्मेवारीलाई एउटै सूत्रमा बाँध्ने यस पहलले कमला नदी संरक्षण अभियानलाई थप गति दिने विश्वास व्यक्त गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…