कमला नपाका विद्यालयहरु दुई सातादेखि बन्द, कुम्भकर्ण निन्द्रामा स्थानीय सरकार
शिक्षक मात्र होइन, स्वास्थ्य, कृषि, वडा सचिवलगायतका कर्मचारीहरूले पनि दशैं, तिहार र छठजस्ता महत्त्वपूर्ण चाडपर्व बितिसक्दा समेत तलबभत्ता नपाएको गुनासो गरेका छन्। असार १० गतेभित्र सम्पन्न हुनुपर्ने नगरसभा अहिलेसम्म नबोलाइएकाले कर्मचारीहरू थप आक्रोशित बनेका छन्।

२०८२ पुस १४ सोमबार, बिहान ८:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका जनप्रतिनीधिहरुको बचगना झगडाको कारण नगरभरिका विद्यालयहरु विगत दुर्ई सातादेखि बन्द रहेको छ ।
स्थापना कालदेखि नै जनप्रतिनिधिहरूबीच सुरु भएको आन्तरिक द्वन्द्व अझै समाधान हुन नसक्दा शिक्षकहरु सडकमा आउनुपर्ने बाध्यता सृजना गरिएको छ। यस द्वन्द्वको प्रत्यक्ष असर शिक्षक, कर्मचारी तथा सर्वसाधारण नगरबासीले वर्षौंदेखि भोग्दै आएका छन्।
समस्या समाधान गर्दै विकास निर्माणलाई गति दिनु र सुशासन कायम गर्नु जनप्रतिनिधिहरूको प्रमुख दायित्व हो। तर कमला नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षहरुबीचको झगडाको कारण शिक्षकहरुले तलव समेत पाउन सकेका छैनन् ।
नागरिकको आवश्यकताभन्दा बजेट बाँडफाँटमा सहमति हुन नसक्दा नगरपालिकाको समग्र कामकाज प्रभावित बनेको छ। कमला नगरपालिकाभरिका १७ वटै विद्यालयहरु विगत दुई सातादेखि नै बन्द रहेको छ । यसले बालबालिकाहरुको मानसिक स्थितिमा असर पारेको छ भने जनप्रतिनधिहरु कुम्भकर्णको निन्द्रामा सुतेका छन् ।
६ महिनाको तलबभत्ता एकमुष्ट उपलब्ध गराउनुपर्ने तथा नियमित तलब सुनिश्चित गर्नुपर्ने माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएपछि कमला नगरपालिकाभित्रका ५ वटा माध्यमिक विद्यालय, २ वटा निम्न माध्यमिक विद्यालय र १० वटा प्राथमिक विद्यालयको पठनपाठन ठप्प भएको छ। माग पूरा नभएसम्म विद्यालय सञ्चालन नगर्ने अडानसहित १ सय ४९ जना शिक्षक पुस १ गतेदेखि हडतालमा उत्रँदा करिब ७ हजार बालबालिका पढाइबाट वञ्चित भएका छन्।
शिक्षक मात्र होइन, स्वास्थ्य, कृषि, वडा सचिवलगायतका कर्मचारीहरूले पनि दशैं, तिहार र छठजस्ता महत्त्वपूर्ण चाडपर्व बितिसक्दा समेत तलबभत्ता नपाएको गुनासो गरेका छन्। असार १० गतेभित्र सम्पन्न हुनुपर्ने नगरसभा अहिलेसम्म नबोलाइएकाले कर्मचारीहरू थप आक्रोशित बनेका छन्।
जनप्रतिनिधिहरूबीच बजेट भागबन्डामा सहमति हुन नसक्दा चालू आर्थिक वर्षको बजेट अहिलेसम्म पारित हुन सकेको छैन। यसको असर आधारभूत सेवामा स्पष्ट देखिएको छ। स्वास्थ्य संस्थामा औषधिको अभाव छ भने छात्राहरू सेनेटरी प्याडबाट समेत वञ्चित भएका छन्। विकास निर्माणका काम ठप्प छन् र नगरपालिकाभित्रका करिब ५ हजार व्यक्तिले विगत पाँच महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन्।
गत पुस १ गतेदेखि नै आन्दोलनमा रहेका शिक्षकहरुलाई विभिन्न चरणमा वार्ता भएपनि वार्ता भने मिल्न सकेका छैनन् । आज कार्यपालिकाबाट लिखित सम्झौता हुने समय तोकिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…