तीन भाइ, तीन सपना र एउटै सफलताः धनुषाका यी छोराहरूको प्रेरणादायी यात्रा !

२०८२ असार ३ मंगलबार
बेलुकी ७:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । शिक्षाको उज्यालो सँधै उज्यालो घरबाट मात्रै झुल्किन्छ भन्ने गलत ठहरिएको छ । यसपटक कमला नगरपालिका वडा नं. ७, हथमुण्डाका एक साधारण किसानका तीन छोराहरूले यो भ्रान्तिलाई चिर्दै यस्तो उपलब्धि हासिल गरेका छन्, जुन सुन्दा अचम्म लाग्न सक्छ – तर सत्य हो ।

विकरु महतो कोइरी, जसले औपचारिक शिक्षा प्राप्त गरेका छैनन्, माटोमा खटेका, खेतका हिलोसँग नित्यसंलग्न एक ग्रामीण किसान हुन् । तर यिनै विकरु महतोका तीन वटै छोराले एकै पटक तीन अलग–अलग इन्जिनियरिङ् सेक्टरमा पूर्ण छात्रवृत्तिमा नाम निकालेर गाउँ, समाज र देशलाई गौरवान्वित बनाएका छन् ।

जेठा छोरा राकेश कुमार महतोले बि.ई. सिभिल इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्दा, माझिला छोरा सुशान्त सिंह र कान्छा छोरा सिरयान्स कुशवाहाले ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’ मा राज्यस्तरीय प्रतिस्पर्धा पार गरी पूणरूपमा छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् ।

बुबा विकरु महतो कोइरी बिहान सबेरै खेतको डिलमा गोडमेल गर्न जानुहुन्छ । उहाँका हातमा कलम होइन, कोदालो हुन्छ । तर उहाँले छोराहरूको कलम समाउने सपना कहिल्यै ओइलिन दिनु भएन । आर्थिक अभाव, ग्रामीण परिवेश र सीमित अवसरका बाबजुद पनि विकरुले छोराहरूको पढाइमा कहिल्यै सम्झौता गरेनन् ।

राकेश, सुशान्त र सिरयान्स — यी तीनै भाइको मेहनत, निरन्तर अभ्यास र अभिभावकको समर्थनले आज यस्तो सफलता ल्याएको छ, जुन धेरैका लागि प्रेरणा बन्न सक्छ ।

“हामीलाई बुबाको अनुशासन, माइलो भाइको धैर्यता र कान्छो भाइको लगनशीलताले यहाँसम्म पुर्याएको हो,” राकेश भन्छन् । उनी थप्छन्, “हामीलाई थाहा छ, हाम्रो जिम्मेवारी अब अझ बढेको छ — हामी पढेपछि गाउँ फर्किन्छौं, यहीँका सडक, पुल र भवन निर्माणमा केही योगदान दिन चाहन्छौं ।”

गाउँका शिक्षक, बुद्धिजीवी, अभिभावक र छिमेकीहरू तीन भाइको सफलताले निकै हर्षित छन् ।

कमला नगरपालिकाकै इतिहासमा यस्तो उदाहरण पहिलो भएको धेरैको ठम्याइ छ — एउटै परिवारका तीन जना सन्तानले एकै पटक इन्जिनियरिङ् तर्फको पूर्ण छात्रवृत्ति प्राप्त गर्नु ।

यो घटना प्रमाण हो — यदि अवसर दिइयो भने ग्रामीण क्षेत्रका बालबालिकाहरू पनि प्रतिस्पर्धामा अब्बल हुन सक्छन् । यो परिवारको कथा शिक्षामा समान पहुँच र अवसरको महत्व देखाउने एउटा ज्वलन्त उदाहरण हो ।

सफलता सहरमा मात्र सीमित छैन । हथमुण्डाका यी तीन भाइले देखाएका छन् — जहाँ चाह, त्यहाँ राह अवश्य हुन्छ ।
 

  • 9%
  • 0%
  • 5%
  • 5%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८२ असार ३ मंगलबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus