कमला–३ मा बालविवाह, भागी विवाह र लागुऔषधविरुद्धको सडक नाटक सम्पन्न
सडक नाटक हेर्न सयौँ स्थानीयवासीको उल्लेख्य उपस्थिति रह्यो। दर्शकहरूले नाटकलाई निकै प्रभावकारी र मनछुने भनेका थिए। स्थानीय शिक्षक, अभिभावक, महिला समूह तथा युवा क्लवका सदस्यहरूको समेत सकृय सहभागिता देखिएको थियो।

२०८२ जेठ ३१ शनिबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कमला नगरपालिका वडा नं. ३ मा बालविवाह, भागी विवाह तथा लागुऔषधको बढ्दो प्रभावविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने सडक नाटक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस अभियान अन्तर्गत सडक नाटक जेठ २७ गतेदेखि ३१ गतेसम्म विभिन्न स्थानहरूमा सञ्चालन गरियो। नाटकहरू मुख्यतः लगमा, मानपट्टि, पर्सा, हनुमानचौक, दलित बस्ती तथा स्थानीय विद्यालयहरूमा प्रस्तुत गरिएका थिए। विशेषगरी लागुऔषध दुरुपयोगसम्बन्धी नाटक विद्यालय केन्द्रित गरी युवाहरूमा सचेतना जगाउने प्रयास गरिएको थियो।
कार्यक्रमको सबै स्थानहरूमा वडा नं. ३ का वडाध्यक्ष राम भगत यादव स्वयं उपस्थित भई युवाहरू, महिलाहरू तथा अभिभावकहरूसँग प्रत्यक्ष संवाद गरेका थिए। उनले नाटकमार्फत देखाइएको सामाजिक समस्यालाई गम्भीरतापूर्वक लिन स्थानीयवासीलाई आग्रह गर्दै भने, “बालविवाह, भागी विवाह र लागुऔषध दुव्र्यसनले हाम्रो समाजको भविष्य तहसनहस बनाउँछ, अब हामी सबै मिलेर यसविरुद्ध एकजुट हुनुपर्छ।”
जनकपुरका दिग्गज कलाकारहरूको विशेष टोलीले नाटकको प्रस्तुति दिएको थियो। प्रस्तुतिमा सामाजिक यथार्थ, बालमनोविज्ञान, पारिवारिक दबाब, लिंग भेद, कानुनी पक्ष तथा समाधानको सन्देशसमेत समेटिएको थियो।
सडक नाटक हेर्न सयौँ स्थानीयवासीको उल्लेख्य उपस्थिति रह्यो। दर्शकहरूले नाटकलाई निकै प्रभावकारी र मनछुने भनेका थिए। स्थानीय शिक्षक, अभिभावक, महिला समूह तथा युवा क्लवका सदस्यहरूको समेत सकृय सहभागिता देखिएको थियो।
यस अभियानले कमलावासीमा बालविवाह, भागी विवाह र लागुऔषधको विरुद्ध सामाजिक जागरण ल्याउने अपेक्षा गरिएको छ। कार्यक्रम आयोजकले यस्ता गतिविधि आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…