धनुषाको मिथिला बिहारीमा न्यायमा दलितको पहुँच बढाउन सडक नाटक
कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। दलित समुदायका सदस्यहरू, विशेष गरी युवाहरूले सडक नाटकबाट आफूहरूमा आत्मविश्वास बढेको र कानुनी प्रक्रियाबारे बुझ्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। “पहिला हामी पीडा सहन्थ्यौँ, अब भ

२०८२ जेठ ३ शनिबार, बेलुकी ७:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा न्यायमा दलित समुदायको पहुँच बढाउने उद्देश्यले जनचेतनामूलक सडक नाटक श्रृंखला सम्पन्न गरिएको छ। सामाजिक न्याय र समानताको सन्देश फैलाउने लक्ष्यका साथ आयोजित उक्त नाटक १० वटै वडामा १० स्थानमा प्रदर्शन गरिएको हो।
“न्यायमा दलितको पहुँच” शीर्षकको उक्त नाटकले दलित समुदायमाथि भइरहेका सामाजिक, सांस्कृतिक र न्यायिक विभेदका घटनाहरू उजागर गर्दै कानुनी सहायता तथा न्याय प्राप्तिको उपायहरूबारे जानकारी दिएको छ। नाटकमा जातीय विभेद, घरेलु हिंसा, प्रहरीसमक्ष उजुरी दिने प्रक्रिया, र न्यायिक अधिकारबारेको जनचेतना समेटिएको थियो।
कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। दलित समुदायका सदस्यहरू, विशेष गरी युवाहरूले सडक नाटकबाट आफूहरूमा आत्मविश्वास बढेको र कानुनी प्रक्रियाबारे बुझ्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
“पहिला हामी पीडा सहन्थ्यौँ, अब भने उजुरी गर्नुपर्छ भन्ने हिम्मत आएको छ,” एक स्थानीय दलित युवतीले भनिन्।
सडक नाटकको आयोजनाले स्थानीय तहका जनप्रतिनिधिहरू र समुदायबीच संवादको माध्यमसमेत तयार पारेको छ। विभिन्न स्थानमा वडाध्यक्ष, महिला प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमका आयोजक मिथिला बिहारी नगरपालिका र त्रिनेत्र न्यूज नेटवर्कको समन्वयमा भएको सडक नाटक श्रृंखलाले सामाजिक रूपान्तरणतर्फ एक सशक्त पाइला चालेको छ। आगामी दिनहरूमा विद्यालय र सामुदायिक तहमा यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको समेत बताइएको छ।
बैशाख ३० गतेदेखि जेठ ३ गते शनिबारसम्म चलेको पाँच दिवसीय सडक नाटकको क्रममा दलित समुदायलाई लक्षित गरी सडक नाटकमा विषयवस्तु प्रदर्शन गरिएको थियो ।
कलाकारहरुको प्रदर्शन र नाटकको सन्देशप्रति कृतज्ञता प्रकट गर्दै वडाध्यक्षहरुले नाटककर्मी कलाकारहरुले प्रवाह गरेको सन्देशलाई आत्मसात गरी न्यायमा सबैको पहुँच बनाउन स्थानीय सरकारले गर्न सक्ने सुधारहरुको अपेक्षा समेत राखेका थिए ।
गाउँमा हुने साधारण झै झगडा, दलित समुदायमाथिको अत्याचार, ज्यादती, मालिकप्रथा, दास प्रथा, महिला हिँसाका घटनाहरु, बालबालिकाका घटनाहरुलाई स्थानीय तहमै गठन भएको न्यायिक समिति मार्फत टुँगो लाग्ने गरेको बताउँदै प्रहरी प्रशासन अन्तिम विकल्प भएको बताइएको थियो ।
नाटक प्रदर्शनको लागि वस्ती वस्तीमा लाउडस्पीकरमा प्रचार प्रसार गरिएको थियो । जनकपुरबाट चर्चित कलाकारहरुको टीमले नाटक प्रदर्शन गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…